राजनीति
कांग्रेस केन्द्रीय सदस्यले सभापतिको बचाउ गरेपछि रक्षात्मक भए गगन र विश्वप्रकाश

काठमाडौं, साउन १०–
११ महिनापछि बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रतिवेदन सभापति शेरबहादुर देउवालाई चुनौती दिने खालको थियो।
पहिलो पटक बैठक प्रत्यक्ष प्रसारण गरेका देउवालाई महामन्त्री थापाले पावर प्वाइन्टबाटै संगठन कसरी व्यवस्थित बनाउने र पार्टी सञ्चालन गर्ने भनेर एक वर्षे कार्यतालिका देखाइदिए। धुम्बाराही निवासबाटै पार्टी चलाइरहेका देउवाका लागि महामन्त्री थापाले पार्टी चलाउन सानेपा पुग्नुपर्ने बाध्यात्मक व्यवस्था अघि सारेका थिए।
उनको प्रस्ताव निर्णय गरेर कार्यान्वयनमा लैजान सके सभापति देउवा होइन, महामन्त्री थापा पार्टीमा हाबी हुने प्रष्ट देखिन्छ। कांग्रेस विधान अनुसार अहिले पार्टी चलेको थिएन। दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमिति बैठक झण्डै एक वर्ष बस्न सकेको थिएन। भ्रातृ र शुभेच्छुक संगठनमा नेतृत्व छैनन्। भएकाहरु पनि अपूर्ण छन्।
नेताहरु के कार्यक्रम लिएर गाउँ जाने, अन्योलमै छन्। अर्थात् कांग्रेस भद्रगोल भएर चलिरहेको छ।
यसको समाधान गर्ने उपायसहित थापाले ल्याएका दुरगामी महत्वका कार्यक्रमले केन्द्रीय कार्यसमिति सदस्यहरुको मन जित्नुपर्ने हो। पार्टीलाई किसानसँग जोड्ने, नेताहरु पार्टी काममै केन्द्रित हुनुपर्ने, नेतालाई बौद्धिक बनाउने कार्यक्रमहरु उनले अघि सारेका थिए।
केन्द्रीय सदस्यहरुले महामन्त्री थापालाई साथ दिँदै पार्टीलाई फाइदा गर्ने यस्तो योजना कार्यान्वयनका लागि सभापति देउवालाई दबाब दिनुपर्ने हो। तर, त्यसो भएन।
३ गतेदेखि सुरु भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको एजेन्डा र महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदनमाथि साउन ४ गतेदेखि केन्द्रीय सदस्यले बोल्न सुरु गरेका थिए।
तर, अधिकांश नेताहरु सभापतिको बचाउमा उत्रिए। शक्तिशाली प्रतिवेदन ल्याए पनि थापाको योजनालाई थोरै नेताले मात्र समर्थन गरे। बढीजसो केन्द्रीय सदस्यले देउवाको बचाउ र महामन्त्रीद्वयको आलोचनामा अधिकांश समय खर्च गरे।
केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले विधानले सम्पूर्ण अधिकार सभापतिलाई दिएकाले दुई महामन्त्री ‘चरी जेलैको’ अवस्थामा रहेको बताए।



























