राजनीति
गगनको प्रष्टिकरणः संसदीय दलको नेता बदल्ने काममा लागिरहन्छु

काठमाडौँ, साउन ८– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताएका छन्।
सोमबार पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सबै पुराना राजनीतिक दल संकटमा पर्ने कारण भनेको ३०र३५ वर्षदेखि ४र५ जना नेतामात्रै सत्ता र नेतृत्वमा घुमिरहनु रहेको बताए।
उनले संसदीय दलको नेता बदल्ने कुरा अहिलेको आवश्यकता भएकाले आफू अझै संसदीय दलको नेता फर्न लागिपर्ने बताए ।
उनले पार्टी सभापति शेरबहादुर देउवाले आफू ५ पटक प्रधानमन्त्री बनिसकेकाले अर्को नेता पार्टीको संसदीय दलको नेता बनोस् भनेर आह्वान गर्ने अपेक्षा राखेको पनि उल्लेख गरे।
महामन्त्री थापाले आफूले पार्टी फुटाउने कुरा नगरेको भन्दै संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिन नपर्ने बताए।
उनले भने, ‘‘साथीहरु किन आत्तिनुभएको? मैले पार्टी फुटाउने कुरा गरेको हो र? मैले त दलको नेता फेर्ने कुरा गरेको हो। सभापतिज्युलाई यो कुरा ठीक हो भन्ने लागेको छ, वरिपरि बस्ने साथीलाई चिन्तित बनाएको छ। धेरै चिन्ता गर्नुपर्दैन। म बदल्न लागिरहन्छु, कसैले नसोध्नुहोला अब।’



























