देश/प्रदेश
नेपाल रेल्वे असुरक्षित : लुटियो एक जना महिलाको दुई लाख ७० हजार

जनकपुरधाम, साउन ८–
दर्जनौंको संख्यामा सुरक्षाकर्मी तैनाथ रहेको नेपाल रेल्वे असुरक्षित बनेको छ । रेल्वे प्रशासन र सुरक्षाकर्मीकै अगाडि आइतबार बेलुका करिब ४ बजेर ३० मिनेटमा जनकपुरबाट जयनगर जाने क्रममा जनकपुरधाम रेल्वे स्टेशनमा एकजना महिलाको पैसा लुटिएको हो ।
बैंक पैसा झिकेर घर जाने क्रममा जनकपुरधाम रेल्वे स्टेशनबाट धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठालकी सुनिताकुमारी यादवको साथबाट २ लाख ७० हजार रुपैयाँ लुटिएको छ । घर जाने क्रममा रेल्वे स्टेशनमा उनी रेलमा चढ्नै बित्तिकै ह्याण्ड ब्याग गायब भएको र त्यसमा २ लाख ७० हजार रुपैयाँ रहेको उनले बताइन् ।
उनले जनकपुरधामस्थित राजदेवी मन्दिर नजिकै रहेको एनआईसी एसिया बैंकबाट उक्त रकम झिकेर घर जाने क्रममा रेल्वे स्टेशनमा लुटेराले १० हजार बराबरको सुनको गहना र पैसासमेत राखेको ह्याण्ड ब्याग लुटेर लगेको उनले बताइन् ।
गाउँमा जग्गा किनेको र सोही जग्गा धनीलाई पैसा दिन श्रीमानले विदेशबाट पठाएको पैसा झिकेर घर आउने क्रममा पैसा लुटिएको उनले बताएकी छिन् ।
यस विषयमा नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झासँग बुझ्न सम्पर्क हुन सकेन् । यसअघि पनि जयनगरबाट जनकपुरधाम आउँने यस रेलमा दैनिक गुटखा र कपडा तस्करी हुँदा रेल्वे प्रशासन र सुरक्षाकर्मी मुकदर्शक बन्दै आएको छ ।
यसले रेल्वे असुरक्षित त बनेको नै छ भने दैनिक लाखौं राजश्व पनि छली भइरहेको छ ।

























