राजनीति
एकीकृत समाजवादीका रामेछाप अध्यक्षसहितका नेता एमालेमै फर्किए

रामेछाप, साउन ७ –
नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत एमालेमै फर्किएका छन् । नेकपा एमाले रामेछापले आइतवार (आज) नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा गरेको एक कार्यक्रमका बीच बस्नेतसहितका नेता एमालेमै फर्र्किएका हुन् । बस्नेतलाई एमाले महासचिव शंकर पोखरेल पार्टी प्रवेश गराए । बस्नेत मन्थली नगरपालिकाका निवर्तमान मेयर तथा जिल्ला विकास समिति रामेछापका पूर्वसभापति र उपसभापतिसमेत हुन् ।
नेकपा एकीकृत समाजवादीले राम्रो गर्ला कि भनेर उता लागेको तर पार्टीका अध्यक्ष माधव नेपालले नेपाली कांग्रेसको पछि लाग्नुबाहेक अरू केही गर्न नसकेको र एमालेलाई नै समाप्त गर्न लागिपरेकाले आफू एमालेमै फर्किएको बस्नेतको भनाइ छ । उनले आफू एमालेमा कुनै भाग लिन नभई पार्टीको सेवा गर्न फर्किएको जिकिर गरे ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका उपाध्यक्ष केशव दाहालसहितका नेता कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।



























