चितवन विशेष

भरतपुरमा चोककै परिचय दिने पिपलको रुख काटिएपछि…

Banner

चितवन, साउन ४–

भरतपुर महानगरपालिका–४ र ७ को सिमानामा पर्छ पिपलचोक । यहाँ पिपलको पुरानो रुख भएकाले पिपल चोक भनिएको हो । पिपल धार्मिक र मानव स्वास्थ्यका हिसाबले पनि महत्वपूर्ण मानिन्छ ।

भरतपुर–७ तर्फ पर्ने पिपलको रुख केहि दिनअघि एउटा समूहले काटेर ठुटो बनाइदिएका छन् । अनुमति विना पिपलको रुख काटिएपछि भरतपुर ७ का जनप्रतिनिधिहरु रुष्ट भएका छन् । सडकलाई अवरोध नगरेको रुख विना जानकारी काटिएपछि रुख काट्नेलाई कारबाही गर्ने जनप्रतिनिधिको तयारी छ ।

भरतपुर–७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्लेले भरतपुर–४ का केहि युवाले पिपलको रुख काटेको भन्ने जानकारी आएको बताए । उनीहरुलाई वडा कार्यालयमा बोलाइएको उनले बताए । यस पिपलको रुखमा स्थानीयले पुजा पनि गर्ने गरेका छन् । रुख काटिएकामा स्थानीयले पनि विरोध जनाएको काफ्लेले बताए ।

पिपलको रुख काटिएपछि वातावरण संरक्षण अभियान्ताहरुले पनि विरोध जनाएका छन् । रातको समयमा समेत अक्सिजन दिने र चोककै परिचय दिने पिपलको रुख काटिनु दुःखद भएको इन्जिनियर सागर कार्की बताउँछन् ।

‘अनावश्यक हाँगालाई राम्रो सँग ट्रिमिङ गरेर हुर्कन दिने हो भने यो पिपल थुप्रै जीवन र मृत्युको साक्षी हुन सक्छ यद्यपि यो रुखलाई काट्नु पाप मानिन्छ । ब्रह्मा, विष्णु र शिवको वृक्ष स्वरुप मानिने पिपल रुखले रातको समय पनि अक्सिजन दिएर मानव सभ्यता माथि ठूलो गुन लाएको छ । यसलाई संरक्षण गरौं, माया गरौं, पूजा गरौं तर मृत हुन नदिउँ’, उनले लेखेका छन् ।

२०७९ बैशाखमा भएको स्थानीयको तहको निर्वाचनका बेला यो चोकले देशभर चर्चा कमाएको थियो । सत्ता गठबन्धनको निर्णय विरुद्ध भरतपुर महानगरको मेयरमा कांग्रेसका जगन्नाथ पौडेलले उम्मेदवारी दिएपछि यो चोकले चर्चा पाएको हो । किनकी पौडेलको घर यहि चोकनेर छ ।

पौडेललाई फकाएर उम्मेदवारी फिर्ता गराउन तत्कालिन गृहमन्त्री बालकृष्ण खाँण पिपलचोक पुगेका थिए । तर रेनु दाहाल विरुद्ध उम्मेदवारी दिएका पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । पिपलचोकले उम्मेदवारी फिर्ता नलिएर सत्ता गठबन्धनलाई चुनौती दिएको भनेर त्यतिबेला चर्चा भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>