इच्छकामना

सोलारमा चट्याङले क्षति पुर्‍याएपछि इच्छाकामना खानेपानीको समस्या

Banner
चितवन, साउन ३-
चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित खानेपानी आयोजनाको सोलारमा चट्याङले क्षति पुर्‍याएपछि स्थानीय खानेपानीको समस्यामा परेका छन् । चण्डिभञ्ज्याङ्मा सञ्चालित ढुङ्ग्रे लिफ्टिङ खानेपानी आयोजनाको सोलारमा असार ८ गते परेको चट्याङले क्षति पुर्‍याएको थियो ।
क्षति पुर्‍याएको महिना दिन पुग्न लाग्दा पनि समयमै मर्मत गर्न नसक्दा खानेपानीको लागि स्थानीयले सास्ती व्यहोर्नु परेको हो । दुई वर्षअघि सञ्चालनमा आएको उक्त खानेपानी आयोजनाको सोलार प्यानल र कन्ट्रोलरमा गत असार ८ गते परेको चट्याङले क्षति पुर्‍याएको ढङ्ग्रे–तुन्तेस खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष दिलकुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार चट्याङले आयोजनाको मुख्य पम्पिङमै समस्या आएपछि ट्याङ्कीमा पानी तान्न सकिएको छैन ।
“खानेपानीको सोलारमा क्षति भएकाले पुरानै अवस्थामा करिब १ घण्टा लगाएर कुवाको पानी पिउनुपर्ने बाध्यतामा स्थानीय छन्”, गुरुङले भन्नुभयो । उहाँका अनुसार उक्त आयोजनाबाट ढुङ्ग्रेका करिब ३५ घरपरिवारका साथै राष्ट्रिय माध्यामिक विद्यालय ढुङ्ग्रे र चण्डिभञ्ज्याङ स्वास्थ्य चौकीले खानेपानी प्रयोग गरिरहेका थिए । लामो समयदेखि नियमित खानेपानी आपूर्ति हुन नसक्दा स्थानीयसँगै विद्यालय र स्वास्थ्यचौकीलाई समेत अप्ठ्यारो परेको उहाँको भनाइ थियो ।
खानेपानीको अभावका कारण वर्षायाममा झरेको बलेनीको पानी सङ्कलन गरी काम चलाउनु परेको राष्ट्रिय माध्यामिक विद्यालयका प्रध्यानाध्यापक विश्वनाथ गुरुङले बताउनुभयो । “पिउनका लागि हामी विद्यार्थीलाई स्थानीय कुवाबाट भरेर खानेपानी ल्याउन लगाएका छौँ भने शौचालयका लागि वर्षायाममा झरेको बलेनीको पानी सङ्कलन गरी काम चलाइरहेका छौँ”, उहाँले भन्नुभयो ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिल गुरुङले चट्याङले क्षति पुर्‍याएको सोलार प्यानल र कन्ट्रोलर मर्मतको लागि समितिसँग रकम नभएकाले वडा र पालिकालाई अनुरोध गरेको बताउँदै पालिकाले अहिलेसम्म सुनुवाइ नगरेको जानकारी दिनुभयो ।
इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले स्थानीयको गुनासो आउने वित्तिकै तत्कालै प्राविधिक पठाएर चट्याङले क्षति पुर्‍याएको कन्ट्रोलर मर्मतका लागि काठमाडौँ पठाइएको बताउनुभयो । मर्मत कम्पनीले समयमै मर्मत गरेर जडान नगरिदिएकाले नियमित खानेपानी वितरणमा ढिलाइ भएको उहाँको भनाइ थियो । “अब दुईरतीन दिनभित्रैमा सामान ल्याएर जडान गरी पानी वितरणको तयारीमा छौँ”, अध्यक्ष गुरुङले भन्नुभयो ।
वडा नं ६ का वडाध्यक्ष लक्ष्मण चेपाङले चट्याङले क्षति पुर्‍याएको स्थानमा विद्युत् पुगेकाले सोलार सिस्टम हटाई छिट्टै विद्युतीय सिस्टम जडान गरी खानेपानीको समस्याको दीर्घकालीन रुपमा समाधान गरिने बताउनुभयो ।
इच्छाकामना गाउँपालिकाको ‘एक घर एक धारा’ अवधारणाअन्तर्गत गाउँपालिकाको रू २५ लाख, जिल्ला समन्वय समिति चितवनको रू २५ लाख र वाग्मती प्रदेश सरकारको रू ५० लाख गरी कूल रू एक करोडको लागतमा साझेदारी सिरान ढङ्ग्रे, माझ ढुङ्ग्रे र तुन्तेस गाउँका करिब ८० घरधुरीमा खानेपानी पुर्‍याउनका लागि दुई वर्ष अघि उक्त खानेपानी आयोजना निर्माण गरिएको थियो ।
ढुङ्ग्रे र तुन्तेसमा २० हजार लिटर क्षमताको छुट्टाछुट्टै पाँच वटा ट्याङ्की निर्माण गरिएको छ भने करिब ८० घरमा घरैपिच्छे एउटा धारा निर्माण गरिएको आयोजनाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>