चितवन विशेष

चितवनमा गत आवमा वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु, कहाँ कुन घटना ?

Banner

चितवन, साउन २–

गत आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । निकुञ्जका अनुसार ५ वटा घटना निकुञ्जको मध्यवर्ती क्षेत्रमा भएका हुन् भने एउटा घटना कोर क्षेत्रमा भएको हो ।

गत आवमा भएका ६ वटा घटनामध्ये तीन हात्ती, दुई गैंडा र एक बाघले आक्रमण गरेका घटना हुन् । अघिल्लो आव २०७८/७९ मा वन्यजन्तुको आक्रमणबाट १९ जनाको मृत्यु भएको थियो ।

गत आवको पहिलो महिना २०७९ साउन ३० गते भरतपुर–६ देवनगरकी माया विकको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । ५१ वर्षीय विकलाई सामुदायिक वनमा घाँस काट्न गएका बेला हात्तीले आक्रमण गरेको थियो ।

त्यस घटनाको करिब एक महिनापछि भदौ २६ गते माडी–२ ढिकुनका सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । अमेलिया सामुदायिक वनमा भैंसी चराउन जाँदा उनलाई बाघले आक्रमण गरेको थियो ।

रत्ननगर–६ का विसुन महतोको असोज ९ गते गैंडाको आक्रमणबाट मृत्यु भयो । बाटोमा हिँड्दै गर्दा उनलाई गैंडाले आक्रमण गरेको थियो । त्यस घटनाको तीन महिनापछि पुस ३ गते भरतपुर–२८ मेघौलीमा आगनमा आगो तापिरहेका बेला स्थानीय भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको तिवारीले बताए ।

त्यसपछि फागुनमा मात्रै वन्यजन्तु आक्रमणका दुई वटा घटना भए । रत्ननगर–९ का चन्द्रबहादुर तामाङ फागनु ९ गते मर्निङ वाकमा निस्किएका बेला गैंडाको आक्रमणमा परे । फागुन १२ गते निकुञ्जको सौराहा हात्तीसारमा इजरायली नागरिक वोइकनेर स्यामुयलको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>