राजनीति
प्रधानमन्त्रीले अशोभनीय कुरा बोल्नु भयो, यसबारे जवाफ दिनुपर्छः रवि लामिछानेले

काठमाडौं, असार २४-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद तीन नेताको मुडमा चल्न नसक्ने बताए। आइतबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले संसद तीन नेताको मुडमा चल्न नसक्ने बताएका हुन् ।
महत्त्वपूर्ण कानुन पारित गर्ने, नागरिकका महत्त्वपूर्ण सवालहरू उठाउनुपर्ने बेलामा संसद तीन नेताको मुडअनुसार चलाउन खोजिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन्। उनले भने, ‘प्रधानमन्त्रीले अशोभनीय कुरा बोल्नु भयो। गम्भीर विषय बोल्नु भयो।
यसबारे जवाफ दिनुपर्छ, सार्वभौम प्रधानमन्त्रीले अमुक मानिस मलाई प्रधानमन्त्री बनाउन दिल्ली जानुभयो भन्नेजस्ता कुरा बोल्नुभयो, त्यो कुरा अत्यन्त गम्भीर छ। त्यसको जवाफ उहाँले दिनुपर्छ।’ उनले सभामुखले संसदमा रास्वपालाई बोल्न नदिएकोबारे पनि गुनासो गरे। सदन रास्वपाको कारण रोकिएको भन्ने सन्देश गएको भन्दै त्यसको पनि खण्डन गरे।
‘सभामुखलाई हामीले भन्नैपर्ने हुन्छ। एमालेले आफ्नो कुरा राख्नुभयो, त्यसपछि सोझै सत्तापक्षलाई बोल्न दिइयो,’ उनले भने, ‘यस्तो गलत भाष्य स्थापित गर्न खोजियो कि, रास्वपाले बोलेपछि सबै प्रतिपक्षले बोले। त्यसो होइन, रास्वपाको आफ्नै अडान मुद्दाहरू छन्। कतिपय मुद्दामा समान धारणा हुन सक्छन्।’



























