राजनीति
एमालेद्वारा आज पनि राष्ट्रियसभा अवरुद्ध, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान

काठमाडौं,असार २४-
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आजको राष्ट्रियसभा बैठक पनि अवरुद्ध पारेको छ । बैठक सुरू हुनेबित्तिकै एमालेका सांसदहरूले उभिएर प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान लिए ।
एमालेकी सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको बहिर्गमन नभएसम्म आफूहरूले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिने बताइन् । उनले प्रधानमन्त्री दाहाल संसदमा आएर सो विषयको स्पष्टीकरण दिन लायक नरहेको जिकिरसमेत गरिन् ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेता जुटेर आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न आव्हान गरेका छन् ।
आइतबार बसेको राष्ट्रियसभाको बैठकमा उनले सदनको अवरोध हटाउन शीर्ष नेताबीच संवाद हुनुपर्ने औंल्याए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर सदनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राजीनामा माग गर्दै संसद अवरुद्ध गरेपछि अध्यक्ष तिमिल्सिनाले यस्तो आग्रह गरे ।



























