देश/प्रदेश
छात्रवृत्तिका लागि परीक्षा तालिका सार्वजनिक, सहभागी हुन विद्यार्थीहरुलाई बालेनकाे आग्रह

काठमाडौं, असार २३-
काठमाडौं महानगरपालिकाले छात्रवृत्तिका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ। महानगरपालिका भित्र सञ्चालित निजी विद्यालयबाट उपलब्ध गराइने छात्रवृत्तिका लागि महानगरले परीक्षा तालिका सार्वजनिक गरेको हो।
महानगरपालिकाका अनुसार छावृत्तिका लागि लिइने परीक्षामा सहभागी हुन अनलाइन आवेदन असार २८ देखि साउन १२ गतेसम्म दिन सकिनेछ। परीक्षा साउन २० गते हुने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले कक्षा १० को पाठ्यक्रमबाट १०० वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने जनाएको छ। विद्यालयको छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र पछि जानकारी दिने उल्लेख गरेको छ।
मेयर बालेन्द्र शाह (बालेन)ले महानगरमा सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा सञ्चालनको सबै तयारी पूरा गरेको जानकारी दिए। उनले सूचना अनुसार सहभागी भएर लाभ उठाउन विद्यार्थीहरुलाई अनुरोध गरेका छन्।

























