राजनीति
प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर विरोध जनाउन एमालेले डाक्यो संसदीय दलको बैठक

काठमाडौं, असार २०-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको छ । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक-पटक दिल्ली गएको भनी प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको हो ।
पार्टीका एक उच्च नेताका अनुसार आज बुधबार दिउँसो १:३० बजे यसै अभिव्यक्तिलाई लिएर विरोध जनाउन एमालेले संसदीय दल बैठक राख्दै छ । बैठक सिंहदरबारमा बस्नेछ ।
‘प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रचण्डले दिएको अभिव्यक्ति निन्दनीय छ, यसले राष्ट्रको सार्वभौमिकतामै असर परेको छ,’ एमालेका ती नेताले भने, ‘हामीले यसको विरोध गर्न बैठक डाकेका छौं । प्रधानमन्त्रीको यस्तो टिप्पणी हामीलाई सह्य हुँदैन ।’
भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको खुलाएका थिए ।



























