चितवन विशेष

चितवनमा टेलिकमको तार चोरी हुने क्रम बढ्यो

Banner

चितवन, असार ११–

चितवनमा नेपाल टेलिकमको कपर केबल (तार) चोरी हुने क्रम बढेको छ । भरतपुर, नारायणगढमा अप्टिकल फाइबर बिछ्याएका क्षेत्रमा प्रयोग नभएका ल्याण्ड लाईन फोनको तार हराउन थालेको हो ।

‘पोलमा टेलिफोनका तार लथालिंग थिए । आजभोलि चोरले काट्दै लैजाने गरेका छन्,’ भरतपुर–३ का धर्म श्रेष्ठले भने, ‘रातीमा लैजाने रैछन् । एक पटक त देखेर चोरलाई लखेट्यौँ ।’ उनका अनुसार भरतपुर–३ स्थित नौघरे क्षेत्रमा आधाभन्दा धेरै टेलिफोनको तार हराईसकेका छन् । नेपाल टेलिकमले तारको व्यवस्थापन गर्न नसक्दा चोरी भएको उनले बताए ।

पुरानो भएको पिएसटिन सेवालाई विस्थापन गर्ने योजना टेलिकमको छ । अहिले टेलिकमको ल्याण्ड लाईनमा प्रयोग हुने कपर केबललाई विस्थापित गर्न अप्टिकल फाइबर बिछ्याईएको हो । तर कपर केबल व्यवस्थापन गर्न नसक्दा हराउने समस्या देखिएको दुरसञ्चार प्राधिकरण भरतपुर कार्यालयका प्रमुख नविन मिश्रले बताए ।

‘पोलका तारहरु हराउने समस्या एकदम छ,’ उनले भने, ‘यसलाई रोक्न जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय चितवनलाई पत्र नै पठाएका छौँ । रोकिन सकेको छैन ।’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीलाई भेटर समेत जानकारी गराएको उनले बताए । टेलिकमको केबलमा तामा हुन्छ । तामा निकालेर बेच्न चोरले लैजाने गरेका छन् । २० हजार टन तार अफिसमा ल्याएर समेत राखिएको उनले जानकारी दिए ।

जिल्लामा नेपाल टेलिकमका ल्याण्ड लाईन फोनका १६ हजार सेवाग्राही छन् । सबै क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउने तयारीमा नेपाल टेलिकम छ । जिल्लामा सौराहा, बसेनी क्षेत्रमा एक्सचेन्ज पोइन्ट छ । त्यस क्षेत्रमा पूर्ण रुपमा अप्टिकल फाइबरबाट सेवा प्रदान भइरहेको छ । असार १४ गतेदेखि भरतपुरमा पनि काम सकिँदैछ । टाँडी, पर्सामा पनि काम भइरहेको छ । बाँकी रहेको गीतानगर, माडी, रामपुरमा पनि काम सुरु गरिने कार्यालय प्रमुख मिश्रले जानकारी दिए ।

हालसम्म जिल्लाभर ३० किलोमिटरमा अप्टिकल फाइबर बिछ्याईएको छ । यी क्षेत्रको कपर तार समयमै व्यवस्थापन गर्न नसक्दा चोरी हुने क्रम बढेको हो । अप्टिकल फाइबर बिछ्याईएको ठाउँबाट प्रयोग बिहिन भएका तारलाई हटाउँदै जाने उनले बताए ।

जिल्लामा २०७६ सालको अन्त्यतिरबाट फाइबर बिछ्याउने काम थालिएको थियो । नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटिएच) इन्टरनेट सेवा सुरु भइसकेको छ । काम सम्पन्न भएका स्थानमा फाइबर इन्टरनेटको क्याबिनेट राखिएसँगै त्यहाँका केही स्थानीयले सेवा जडान गरिसकेका छन् । भूमिगत बनाइएका फाइबर केबलहरू निश्चित क्याबिनेटमा जोडिएका हुन्छन् । त्यही क्याबिनेटबाट प्वाइन्ट हुँदै फाइबर केबललाई प्रयोगकर्ताको घरसम्म लगेर जडान गरिन्छ । जिल्लाभित्र हाललाई २८ हजार ग्राहक पु¥याउने लक्ष्य लिइएको छ । १२ हजारको हाराहारीमा जना ग्राहक एफटिटिएचमा आबद्ध भइसकेको नेपाल टेलिकमको भनाई छ ।

पुरानो भएको पिएसटिन वा ल्याण्ड लाइन सेवामा मुख्यतः तामाको तारबाट डाटा वा सूचनाको सञ्चार हुने गर्छ । तार पुरानो हुँदै गएपछि त्यसले डाटाको सञ्चारमा अवरोध पु¥याउँछ । जसले गर्दा टेलिफोनमा बोल्दा आवाज प्रष्ट नसुनिने जस्तो समस्या देखिन थाल्छ । फाइबर इन्टरनेटमा भने त्यस खालको समस्या नहुने मिश्रको भनाई छ । अप्टिकल फाइबरलाई भूमित गरिएको छ । जसले गर्दा चोरी हुने र अन्य समस्या कम हुने उनले बताए । जिल्लामा पछिल्लो समय ल्याण्ड लाइनका सेवाग्राही विभिन्न संघ संस्था, होटल तथा सरकारी कार्यालयमा बढी प्रयोग हुने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>