राजनीति
बाढी र पहिरो घटनाका पीडितलाई राहत र उद्धार कार्यमा ढिलाई नगर्न योगेश र दीपकले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं,असार ३-
नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले पूर्वी पहाडी जिल्लामा गएराति आएको बाढी र पहिरोबाट भएको क्षतिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् । आकस्मिक समय लिएर बोल्दै उनले सो घटनाका पीडितलाई राहत र उद्धार कार्यमा ढिलाई नगर्न पनि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘यो विपदसँग सम्बन्धित भएको हुनाले गृहमन्त्रीजीले यसको सम्पूर्ण अवस्थाको जानकारी यो सदनमा गराउनु पर्छ । त्यसैगरी पुल, सडकहरु क्षति पुगेका छन । त्यसको तत्कालको अवस्था के छ ? भौतिक पूर्वाधार मन्त्रीजीले यस विषयमा सदनमा जानकारी दिन सभामुख महोदयमार्फत माग गर्न चाहन्छु । र, तत्कालै बेलिब्रिज, झोलुंगे पुलहरुको व्यवस्था गरेर आवागमनलाई सहज बनाइयोस् । पीडितहरुलाई आवास र खाद्यान्नको संकट छ । त्यसैले आवश्यक र खाद्यान्नको तत्काल व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
कांग्रेस सांसद दीपक खड्काले पीडितलाई तत्काल उद्धार, राहत, क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरे । खड्काले संखुवासभाको सुपर हेवा जलविद्युत आयोजनामा काम गर्ने १६ जना मजदुर बेपत्ता भएको र उनीहरूमध्ये ३ जना फेला परेको, एक जना मृत अवस्थामा भेटिएको उल्लेख गर्दै बेपत्ता भएका अन्यको खोजी कार्यमा तीव्रता दिन पनि सरकारको ध्यानाकर्षण गराए ।



























