राजनीति
नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह

काठमाडौँ, कात्तिक १४ –
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आइटी) उद्योगलाई प्रोत्साहन गर्दै नेपाली कम्पनीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न र ग्लोबल युनिकर्न कम्पनीका रूपमा विकास गर्न सहज वातावरण निर्माण गरिने बताउनुभएको छ ।
आज सामाजिक सञ्जालमार्फत उहाँले यसका लागि आवश्यक नियम, वातावरण सबै पुनरावलोकन गरिने उल्लेख गर्नुभयो ।
उहाँले नेपालमा गेमिङ एप बनाएर संसारभर नाम कमाएका कम्पनीहरू पनि भएको उल्लेख गर्दै संसारकै सबैभन्दा चर्चित लुडो (करिब २०० मिलियन डाउनलोड) र कलब्रेक गेम (१५० मिलियनभन्दा बढी पटक डाउनलोड) नेपालीले नै बनाएको बताउनुभएको छ । साथै सयौँ युवाहरु गेम एप बनाउन तल्लिन रहेको उहाँको भनाइ छ ।
“हामीले उहाँहरुलाई बोलाएर समस्याहरू पनि बुझ्यौँ र यो गेम डेभलपमेन्ट क्षेत्रलाई सजिलो बनाउन र उद्योगका रूपमा अघि बढाउने विषयमा पनि छलफल गर्र्यौं र अब उहाँहरुको समस्या समाधान गर्ने गृहकार्य अघि बढाइएको छ”, प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ ।
आइटीसम्बन्धी ‘प्रडक्ट’ र निर्यात पनि अहिले निकै सकारात्मक अवस्थामा रहेको र हाम्रो दक्षता, कम्पनीहरूले सहजै कमाउने, पुनःलगानी गर्ने विषयलाई ध्यानमा राख्दै करमा सहजता र नीतिगत सुधार, अन्तरराष्ट्रिय आम्दानीसम्बन्धी नियमहरु अझै सहज बनाउने उहाँको भनाइ छ ।
यसका साथै गेम जाम, स्टार्टअप इभेन्ट, सूचना प्रविधि क्षेत्र, राष्ट्र बैंक, अर्थ मन्त्रालयसँग नियमित अन्तरक्रिया, ह्याकाथोन र समग्र आइटी प्रडक्ट र गेमिङ उद्योगलाई फाइदा पुग्ने गरी इकोसिस्टममा लगानी गरिने प्रधानमन्त्रीको भनाइ छ ।
























