खेलकुद
राइनो दौड प्रतियोगितामा पुरुषतर्फ मुकेश पाल र महिलातर्फ सिर्जना पाण्डे प्रथम

भरतपुर, कात्तिक १४-
राइनो क्लबको आयोजनामा शनिबार ५ किलोमिटर दूरीको राइनो दौड प्रतियोगिता सम्पन्न भएको छ। गैंडाकोटस्थित जयश्री पुलबाट सुरु भएको दौड नारायणगढको लीलाचोकमा पुगेर सम्पन्न भएको थियो।
प्रतियोगिताको पुरुषतर्फ मुकेश पालले १६ मिनेट ५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम स्थान हासिल गरेका छन्। त्यस्तै उमेश धापले १६ मिनेट १४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र दिशा अरज लिम्बुले १६ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान प्राप्त गरेका छन्।
महिलातर्फ सिर्जना पाण्डेले २० मिनेट १९ सेकेन्डमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरेकी छन्। सरस्वती भट्टराईले २१ मिनेट २५ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र हिमाली बुढाले २२ मिनेट ३९ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान प्राप्त गरेकी छन्।
यसैगरी ५० वर्षमाथिको भेट्रान्स विधातर्फ ५१ वर्षीय यानबहादुर बिष्टले २२ मिनेट ३९ सेकेन्डमा दौड पूरा गरेका छन्। प्रतियोगितामा पुरुष तथा महिला दुवै विधाका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था रहेको छ।
स्वास्थ्य प्रति जागरूकता अभिवृद्धि, दौड संस्कृतिको विकास तथा खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक महेश प्रधानले बताउनु भयो।
























