राजनीति
प्रधानमन्त्री प्रचण्ड आज दाङ जाँदै

काठमाडौं, जेठ ३१-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दाङ जाँदै छन् । दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयले आज पाचौँ दीक्षान्त समारोहमा सहभागी हुन दाङ जान लागेका हुन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा यादवप्रसाद लामिछानेका अनुसार बिहान साढे ११ बजे शुरु हुने समारोहमा ५७५ जना विद्यार्थीहरू दीक्षित हुनेछन्।
२०६७ सालयता संस्कृत विश्वविद्यालयको दिक्षन्त समारोह भएको थिएन। १० वटा शैक्षिक सत्रमा विश्व विद्यालयबाट विद्यावारिधि, आचार्य, शास्त्री, एक वर्षे शिक्षा शास्त्री र बि।एम।एस उत्तिर्ण गरेका ४ हजार ७ सय ७३ मध्ये निवेदन दिएका ५ सय ७५ जना विद्यार्थी दीक्षित हुन लागेका हुन्। प्रधानमन्त्री दाङमा दिक्षान्त समारोहमा सहभागी भएर त्यतैबाट दैलेख जानेका कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन् उनी दैलेखको दुल्लु जान लागेका हुन्। दुल्लू नगरपालिका–१२ स्थित दह गाउँ दाहालहरूको उत्पत्ति थलो हो।
यो ठाउँ दाशु सन्ततिहरू दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरूको आदी भूमिका रूपमा चिनिन्छ। कुल शिरोमणि दाशुको सुरुको बसोबास भएको स्थान दह गाउँमा ६६ इन्चको पूर्ण कदको प्रतिमा (सालिक) स्थापना गरिएको छ। प्रधानमन्त्री दाहालले प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको छ।
यो प्रतिमा २५ जेठमा काठमाडौँबाट देवघाट, नारायणघाट, गैँडाकोट, चौरमारा, बर्दघाट, दाउन्ने, बुटवल, गोरुसिङ्गे, लमही, दाङ, कोहलपुर, सुर्खेत, दैलेखको डुङ्गेश्वर हुँदै दह गाउँमा पुर्याइएको थियो।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार दिउँसो साढे २ बजे दाहाल नेपाली सेनाको हेलिकप्टर मार्फत दुल्लू पुग्ने कार्य तालिका रहेको छ।



























