देश/प्रदेश
बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

बाजुरा,कात्तिक १४ –
शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । निरन्तर हावाहुरी, वर्षासँगै हिमपात हुँदा यहाँ चिसो बढेको छ ।
बडीमालिका, बूढीनन्दा, गौमुल, खप्तड छेडेदह, हिमालीलगायत स्थानीय तहका उच्च हिमाली भेगमा गएराति नै हिमपात भएको थियो । जिल्लामा लगातार वर्षा भइरहेको छ । चिसो बढेसँगै स्थानीय बासिन्दा, पशुचौपाया तथा दैनिक कामकाज प्रभावित भएका छन् । विशेषगरी वृद्धवृद्धा, बालबालिका र बिरामीलाई चिसोले बढी समस्या पारेको छ ।
वर्षा र हिमपातका कारण ग्रामीण क्षेत्रका सडक तथा पैदलमार्गमा आवतजावत गर्नसमेत कठिनाइ भएको छ । किसानलाई कृषि तथा पशुपालनका काममा असहज भएको छ । यस्तै, निरन्तरको वर्षा र हावाहुरीका कारण जिल्लामा गएरातिदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ ।
मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि दैनिक जनजीवन बनेको स्थानीय शेरबहादुर बुढाले बताउनुभयो । जिल्लामा करिब धान बाली भित्र्याउने काम अन्तिम चरणमा पुगेर कोदोबाली काट्ने चटारोमा रहेका किसानलाई वर्षाले समस्या पारेको उहाँको भनाइ छ । मौसममा सुधार नआए खेतमा रहेको पराल सुकाउन र पोकेको बाली सुरक्षित रूपमा भित्र्याउन समस्या हुने उहाँले बताउनुभयो ।
यस्तै, धार्मिक तथा पर्यकटीय क्षेत्र बडीमालिकामा पुगेका दुई जना पर्यटक निरन्तरको वर्षासहित भारी हिमपातपछि सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहरा र कृष्णपुर नगरपालिका(२ बस्ने २१ वर्षका सागर कार्की सम्पर्कविहीन भएका छन् । यही असोज ९ गते सदरमुकाम मार्तडीबाट सम्पर्कविहीन दुईसहित पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो । तीमध्ये पूर्वका तीन जना भने बडीमालिका पुगेर सदरमुकाम मार्तडी फर्किसकेका छन् ।
























