समाचार

बाँदरमुढे घटनाको १८ वर्ष पुरा, पीडितको गुनासो अझै उस्तै

Banner

चितवन, जेठ २३–

बाँदरमुढे घटना भएको आज १८ वर्ष पूरा भएको छ । माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ । १८ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि उस्तै छ ।

बाँदरमुढे घटना पिडित समितिले आज घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गरेको छ । ‘दोषीलाई कारबाही गर, पिडितको अधिकार सुनिश्चित गर’ भन्ने नारासहित पिडितले कार्यक्रम गर्न लागेका हुन् । १८ वर्षसम्म पनि आफुहरुले न्याय नपाएको उनीहरुको गुनासो छ ।

घटना गराउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले प्रधानमन्त्री छन् । उनको गृह जिल्ला चितवन नै भएपनि गएको निर्वाचन लड्न उनी गोरखा पुगेका थिए । प्रचण्ड नै प्रधानमन्त्री भएका बेला न्याय नपाए कहिल्यै नपाइने पिडितहरु बताउँछन् ।

तत्कालीन विद्रोही माओवादीले २३ जेठ २०६२ मा माडीको बाँदरमुढे खोलामा थापेको एम्बुसमा परी ४२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश माडीका स्थायी बासिन्दा थिए । नेपाली सेनाका तीन जवानको पनि उक्त घटनामा मृत्यु भएको थियो ।

१५० यात्रु बोकेर माडीको बगईबाट भरतपुरतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबहाक बसमा माओवादीले बम विस्फोट गराउँदा घटनास्थलमा ३९ र उपचारका क्रममा तीन जनाको मृत्यु भएको थियो । सामान्य घाइते भइ घरमा उपचार गराएका घाइतेको रेकर्डबाहेक ७५ जना घाइते भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>