राजनीति
एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टि इस्टेट प्रकरणमा मिलेर जाने सहमति छः महामन्त्री थापा

काठमाडौँ, जेठ ६-
प्रमुख प्रतिपक्ष दल कांग्रेसका महामन्त्री गगन थापाले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकारी ठगी र गिरिबन्धु टि इस्टेट प्रकरण नउठाउने गरी सहमति भएको दाबी गरेका छन् ।
संघीय संसद् भवनमा आइतबार पत्रकार सम्मेलन गरी महामन्त्री थापाले रास्वपा सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सहकारी प्रकरण एमालेले नउठाउने र एमालेमाथि लागेको गिरिबन्ध टि इस्टेट प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीले नउठाउने सहमती गरेकाले गृहमन्त्री लामिछानेले सहकारीको ठगीबारे आफूमाथि लागेको आरोप छानबिन गर्न गठित समितिमा आफू नरहने बताएको दाबी गरे ।
सहकारी प्रकरणमा एमालेले साथ दिने भएकाले रास्वपाका सभापति लामिछानेलाई चिन्ता नभएको थापाको भनाइ थियो । महामन्त्री थापाले संसदीय समिति बनाएर विगतमा भएका सबै घोटालाको छानबिन गर्न आफूहरू तयार रहेको जवाफ पनि गृहमन्त्री लामिछानेलाई दिए ।
























