देश/प्रदेश

सर्लाहीमा ईभी र केमिकल बोकेको ट्रक ठोक्किँदा १२ जना घाइते, एकको अवस्था गम्भीर

०
Banner

सर्लाही, कात्तिक ७-

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक विद्युतीय भ्यान (ईभी) र साबुन बनाउन प्रयोग हुने केमिकल बोकेको ट्रक एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म.प्र.–०४–००१ ज ००५७ नम्बरको ईभी र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–००२ ख १३२४ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेहरू सबै बारा जिल्लाका बासिन्दा रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये रञ्जित रामको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्यदेखि मध्यम रहेको छ ।

घाइतेहरूलाई उपचारका लागि लालबन्दीस्थित मोडल अस्पताल पठाइएको थियो । गम्भीर घाइते रञ्जित रामलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले ट्रक चालक मोरङको बूढीगंगा गाउँपालिका–४ क्याम्पसचोक निवासी करिब ३५ वर्षीय विष्णुप्रसाद चौलागाईंलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय केशरगञ्ज पठाएको छ ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरी चौकी फूलजोरतर्फ ल्याउने पहल भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण राजमार्गमा सडक अवरोध नभएको पनि प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>