देश/प्रदेश
अनलाइन सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार, २४ वर्षीय युवक पक्राउ

काठमाडौँ, वैशाख ३१-
अनलाइन सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । अनलाइन सट्टेबाजी माध्यम एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायतमा सट्टाबाजी गर्न रकम लगाउने, संकलन गर्ने गरेको आरोपमा प्रहरीले एक युवकलाई प्रकाउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगाना रहेका छन् ।
प्रारम्भिक अनुसन्धानमा उनीसँग विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र रेग्मीका अनुसार बिनान्समार्फत २ वटा खाता प्रयोग गरेर विभिन्न २४३ प्रकारका क्रिप्टोकरेन्सीमा हालसम्म १ अर्ब ३४ करोड अर्ब रुपैयाँ कारोबार गरेको भेटिएको छ ।
उनी सामाजिक सञ्जालमा जुवा ३६५ नामको पेज चलाएर प्रचार गर्दै आएका थिए । प्रहरीका अनुसार पक्राउ परेका ढुंगानालाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । उनीमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा कारबाही हुनेछ ।
यस्तै दफा २६२ (क) अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुर, बैंकिङ कसुर तथा सजाय ऐन २०६४ ३ को क र ख लगायत सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अनुसार कारबाही हुने छ ।
प्रहरीका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ र नेपाल राष्ट्र बैंक ऐन २०५८ पनि आकर्षित हुने प्रहरीले जनाएको छ ।

























