Breaking News

गैँडाकोटमा नारायणी नदी उत्खनन् रोक्ने तयारी, नदी दोहनबारे जनगुनासो बढेपछि जिल्लाको अनुगमन टोली खटिँदै

Banner

गैडाकोट,जेठ २२-

नारायणी नदीको गैँडाकोट क्षेत्रमा नदीको मनपरी उत्खनन् भएको जनगुनासो आएपछि जिल्ला समन्वय समितिले उत्खनन्को अनुगमन गर्ने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीलाई फोन गरेर अनुगमन नभएसम्म तत्काललाई रोक्न निर्देशन दिएको समेत बताएका छन् । उनले भने,‘नदीमा भइरहेको उत्खनन् बारे गुनासो आइरहेको छ,भोली अनुगमनमा गएपछि थप जानकारी प्राप्त होला ।’

गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले उत्खनन्बारे गुनासो बढेपछि भोलिबाट रोक्ने तयारी गरिएको बताए । उनले भने,‘नारायणगढ बुटबल आयोजना र चितवनतर्फ नारायणी नदी तटबन्ध गर्नका लागि नदी जन्य पदार्थ उत्खनन् गरिएको हो । अनियमितता गरिएको छैन ।’

उनले आयोजनाका लागि १ लाख ६१ हजार घनमिटर र चितवनमा तटबन्धका लागि १५ हजार घनमिटर उत्खनन्को अनुमती भएको बताए । अधिकारीले नारायणी अनलाइनसंग कुरा गर्दै उत्खनन्बारे प्रमुख प्रशासकियलाई जानकारी भएको र आफूलाई त्यति धेरै ज्ञान नभएको समेत बताए । यसबारे बुझ्न खोज्दा प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम रिजालको मोबाइल अफ थियो ।

स्थानीयले मेयरको सेटिङमा मनपरी उत्खनन् भइरहेको गुनासो गरेका छन् । गैडाकोट नगरपालिका ९ का एक स्थानियले फिल्मी शैलीमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको र सरोकारवाला निकायहरु मौन बसेको बताए । उनले भने,‘यहाँ सबैको मिलेमतो छ,न अनुगमन छ,न कारवाही नै छ ।’ नदी किनारमा उत्खनन्को लागि ट्रिपरको लस्कर लाग्दै आएको छ । निश्चित परिणामा उत्खनन्को अनुमति दिए पनि त्यसको सही ढंगबाट निगरानी र अनुगमन हुन नसक्दा मनपरी उत्खनन् गरिँदै आएको स्थानियको भनाई छ ।

नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी सुभास लामिछानेले नगरपालिकासँग भएको सम्झौता अनुसार काम नभएमा कारबाही गरिने बताए । उनले भने, ‘ राजस्व रसिद हेरेर समय समयमा अनुगमन हुन्छ । यो काम गर्ने अधिकार क्षेत्र गैँडाकोट नगरपालिका र जिल्ला समन्वयको हो ।’

गैँडाकोट नगरपालिकाका सूचना अधिकारी लिलाधर शर्माले पन्ध्रौ कार्यापालिकाको निर्णय अनुसार नदीजन्य पदार्थ उत्खनन्को काम भइरहेको बताए । उनले उत्खनन्का लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) भएको समेत बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>