चितवन विशेष
विरेन्द्र जुस सेन्टरमा हानीकारक विषादी क्याल्सियम कार्बाइड प्रयोग, महानगरले गरायो बन्द

चितवन, जेठ १८–
विरेन्द्र बहुमुखी क्याम्पस अगाडिको विरेन्द्र जुस सेन्टरले फलफुल पकाउन हानीकारक विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेको पाइएको छ । क्यान्सर जस्तो गम्भिर रोग लाग्न सक्ने विषादीको प्रयोग गरेको भेटिएपछि भरतपुर महानगरपालिकाले उक्त पसल बन्द गराएको छ ।
उक्त जुस पसलमा लस्सी बनाउँदा कुहिएको केरा प्रयोग गर्ने गरेको समेत पाइएको छ । भरतपुरकै विभिन्न स्थानमा शाखा रहेको यो जुस सेन्टरलाई महानगरले खाद्य ऐन अनुसार नै कारबाही गर्ने तयारीमा छ ।
मानव स्वास्थ्यमा गम्भिर असर गर्ने विषादीको प्रयोग गरेको पाइएपछि पसल बन्द गराइएको भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले बताए । उक्त पसललाई खाद्य ऐन अनुसार थप कारबाहीको प्रक्रिया अघि बढाइने उनले बताए । बजार अनुगमनका क्रममा उक्त जुस सेन्टरमा पुगेको अनुगमन टोलीले पसल बन्द गर्ने निर्णय गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले फलफुल पकाउन प्रतिबन्धित विषादी क्याल्सियन कार्बाइडको प्रयोग गरेको पाइएको बताए । अक्षम्य गल्ती गरेकाले पसल सञ्चालकलाई खाद्य ऐन अनुसार कारबाही हुने उनले बताए ।