चितवन विशेष

चितवन राष्ट्रिय निकुञ्जमा १० वर्ष यताकै धेरै पर्यटक बढ्दा पनि घट्यो राजश्व

Banner

चितवन,जेठ १२-

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १० वर्षमा सबैभन्दा धेरै पर्यटक चालु आर्थिक वर्षमा आएका छन्। भूकम्प, नाकावन्दी, कोरोना भाइरसको महामारी पछि पहिलोपटक निकुञ्जमा ठूलो संख्यामा पर्यटकहरु आएको निकुञ्ज कार्यालयले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पर्यटक बढे पनि निकुञ्जको राजश्व भने सोचे जस्तो बढ्न सकेन ।

सूचना अधिकारी तिवारीले चालु आर्थिक वर्षको २ महिना (जेठ र असार) बाँकी छँदै वैशाखसम्म २ लाख ६३ हजार ८०६ पर्यटक आए । पछिल्लो १० वर्षमा यति ठूलो संख्यामा पर्यटक घुम्न आएका पहिलो पटक हो ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म निकुञ्जले २४ करोड ४९ लाख ४६ हजार ८६० रूपैयाँ राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७५र७६ मा १ लाख ८७ हजार १०९ पर्यटक मात्रै आउँदा निकुञ्जको राजश्व २९ करोड ४४ लाख ६६ हजार ६३९ पुगेको थियो ।

उनका अनुसार निकुञ्जमा नेपाली पर्यटकसँग प्रति ब्यक्ति १५० रुपैयाँ, सार्क देशकासँग १ हजार र विदेशी पर्यटकसँग २ हजार रुपैयाँ शुल्क लिने गरिन्छ ।

कोभिड महामारी पछाडि नेपाली पर्यटकको संख्या ह्वात्तै बढेको तर विदेशी र सार्क देशबाट अपेक्षाकृत पर्यटक नआउँदा त्यसको असर राजश्वमा परेको उनको भनाइ छ । ‘नेपालीहरुमा घुम्नुपर्छ, परिवारसहित नै जानुपर्छ भन्ने मानसिकताले काम गरेको देखिन्छ, तर विदेशका कतिपय देशहरूले कोराना पछाडि पनि अझै घुमघामका लागि खुला गरिनसकेको कारणले यस्तो भएको हुनसक्छ,’ सूचना अधिकारी तिवारीले भने, ‘तर यसपटक पर्यटकको संख्याले रेकर्ड तोडे पनि राजश्वमा अपेक्षाकृत भएन भन्ने छ ।’

चालु आर्थिक वर्षको २ महिना बाँकी रहँदा अझै पर्यटक र राजश्व बढ्ने अपेक्षा गरिएको उनले बताए । ‘२९ करोडको हाराहारीमा यसपटक पनि पुग्ने अनुमान गरेका छौं, विदेशी पर्यटक बढ्ने वित्तिकै राजश्व पनि बढ्छ,’ सूचना अधिकारी तिवारीले भने ।

चालु वर्षमा १ लाख ८७ हजार २१७ नेपाली, सार्क देशका २७ हजार ८७४ र तेस्रो मुलुकका ४८ हजार ७१५ पर्यटकले निकुञ्ज घुमेका छन् । नेपालीहरु सबैभन्दा धेरै कार्तिक महिनामा २९ हजार ६१५ जना, सार्क देशका बैशाख महिनामा ५ हजार ७९ जना र तेस्रो देशका कार्तिक महिनामै ८ हजार ८८२ जनाले निकुञ्ज भ्रमण गरेका छन् ।

यसअघि गत आर्थिक वर्ष सबैभन्दा धेरै १ लाख ९० हजार पर्यटकले निकुञ्ज घुमेका थिए । पछिल्लो १० वर्षमा सबैभन्दा कम आ।व। २०७२/०७३ मा ८७ हजार ३ सय ९१ र कोरोना भाइरसको महामारी फैलिएको आ.व.२०७७र७८ मा ९८ हजार २ सय २८ पर्यटकले निकुञ्ज घुमेका थिए ।

चालु आर्थिक वर्षमा सबैभन्दा धेरै पर्यापर्यटनबाट १९ करोड ३९ लाख ३२ हजार २ सय ५० रुपैयाँ र गैरकाठ तथा वनपैदावार बिक्रीबाट ४ करोड ७९ लाख ७१ हजार २६९ रुपैयाँ राजश्व संकलन भएको निकुञ्जले जनाएको छ । गत वर्ष ११ करोड ४९ लाख ९७ हजार ४१३ रूपैयाँ राजश्व संकलन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>