चितवन विशेष
चितवनमा ६९ प्रतिशत महिलाको आफ्नो नाममा घरजग्गा छैन, १.४७ प्रतिशत परिवारमा शौचालय छैन

चितवन, जेठ १२–
तथ्यांक कार्यालय चितवनले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको नतिजाअनुसार जिल्लाको जनसंख्या सात लाख १९ हजार ८५९ रहेको छ । त्यसमध्ये पुरुष तीन लाख ५१ हजार ७८९ (४८.८६ प्रतिशत) र महिला तीन लाख ६८ हजार ६७ (५१.१४ प्रतिशत) जना छन् । यहाँ एक लाख ७९ हजार ३४५ परिवार छन् ।
जिल्ला स्तरिय नतिजा सार्वजनिक गर्दै तथ्यांक कार्यालय चितवनका प्रमुख यज्ञमुर्ती भण्डारीले ६९.७० प्रतिशत महिलाको आफ्नो नाममा घरजग्गा नभएको बताए । नतिजाअनुसार घरजग्गा दुवै आफ्नो नाममा भएका महिला १५.९९ प्रतिशत छन् । जग्गा मात्र भएका ११.२९ प्रतिशत, घरमात्र भएका १.९४ प्रतिशत र उल्लेख नभएका १.०७ प्रतिशत महिला छन् ।
जिल्लामा १.४७ प्रतिशत परिवारले शौचालयको प्रयोग नै गर्दैनन् । सबैभन्दा धेरै ६९.५५ प्रतिशत परिवारले फ्लस भएको (सेफ्टिक ट्यांक) शौचालय प्रयोग गर्ने गरेका छन् भने २६.३५ प्रतिशत परिवारले साधारण शौचालय प्रयोग गर्छन् । ०.५३ प्रतिशत परिवारले सार्वजनिक शौचालय र २.१० प्रतिशत परिवारले फ्लस भएको (सार्वजनिक ढल) शौचालय प्रयोग गरेको पाइएको छ ।