खेलकुद
भरतपुर–१२ को रामबेल खेल मैदानमा भोलिदेखि अन्तर टोलस्तरीय फुटबल प्रतियोगिता हुँदै

चितवन, जेठ ९-
भरतपुर महानगरपालिका–१२ मा बुधबारदेखि अन्तर टोलस्तरीय नकआउट फुटबल सुरु हुँदैछ ।
वडा खेलकुद विकास समिति भरतपुर–१२ को आयोजनामा हुने प्रतियोगिताको महानगरका उपमेयर चित्रसेन अधिकारीले उद्घाटन गर्नेछन् । प्रतियोगितामा भरतपुर–१२ का १७ टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताका खेलहरु रामबेल सामुदायिक वनको मैदानमा हुनेछन् । उद्घाटन खेलमा बुधबार कालिका टोल र पोख्रेली टोल भिड्नेछन् । बुधबार नै हुने दोस्रो खेलमा राधाकृष्ण टोल र सहयोगी टोल भिड्ने वडा खेलकुद विकास समिति भरतपुर–१२ का उपाध्यक्ष कृष्ण कार्कीले जानकारी दिए ।
१८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ४० हजारसहित ट्रफी प्राप्त गर्ने कार्कीले बताए । यस्तै उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।