समाचार

तत्कालिन गृह सचिव पाण्डेको बयान : मन्त्री खाणलाई कार्यकक्षमै लगेर सवा करोड बुझाएको हुँ

Banner

काठमाडौँ, जेठ ९–

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालिन गृहसचिव टेकनारायण पाण्डेले गृहमन्त्री (त्यतिबेलाका) बालकृष्ण खाणलाई कार्यकक्षमै पुगेर सवा करोड बुझाएको प्रहरीलाई बयान दिएका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने भन्दै गरिएको ठगी धन्दाका क्रममा गृह मन्त्रालयभित्रै पैसा लेनदेन भएको खुलेको छ ।

मन्त्रालयमै आएर बिचौलियाले दिएको पैसा आफूले तत्कालै मन्त्री खाणलाई लगेर बुझाएको उनको लिखित बयानमा उल्लेख छ ।

प्रहरीले अनुसन्धान सकाएर सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको छ, जसमा सचिव पाण्डेको बयानमा ‘२६ जेठ ०७९ मा बिचौलिया केशव दुलालले मन्त्रालयमै आएर आफूलाई पैसा दिएको र त्यो सबै पैसा तत्कालै मन्त्री खाणको कार्यकक्षमा गएर उनलाई बुझाएको’ उल्लेख छ ।

२० वैशाखमा पक्राउ परेका पाण्डेले सुरुवाती बयानमा ठगी धन्दामा संलग्नताबारे इन्कार गरेका थिए । फर्म्याट गरेको मोबाइलको डेटा प्रहरीले रिकभर भएपछि बिचौलिया दुलाल र उनीबीचको ह्वाट्सएप च्याटबाट प्रहरीले धेरै सूचना पाएको थियो । च्याटमा पाण्डे र दुलालबीच पटक–पटक आर्थिक लेनदेनका विषयमा कुराकानी भएको पाइएको थियो ।

त्यसकै आधारमा प्रहरीले पाण्डेको ततिम्बा (पूरक) बयान गराएको थियो । जसक्रममा उनले पैसा लिएको स्वीकार गर्दै सबै पैसा मन्त्रीलाई बुझाएको बताएका हुन् । यद्यपि, खाणले भने बयानमा सो कुरा अस्वीकार गरेका छन् । बयानका क्रममा उनले त्यसबारे ‘सम्बन्धित व्यक्तिलाई नै सोध्न’ जवाफ दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>