चितवन विशेष

भरतपुर कारागारमा बजेट अभाव, कैदीबन्दीलाई औषधि सहयोग

Banner

चितवन, जेठ ५-

कारागार कार्यालय भरतपुरमा बजेट अभावका कारण बिरामी कैदीबन्दीलाई औषधि किन्न समस्या भएपछि नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ नारायणगढ इकाइले औषधि सहयोग गरेको छ । इकाइले विभिन्न ३१ प्रकारका औषधि आज कारागार प्रशासनलाई हस्तान्तरण गरेको हो ।

इकाइका अध्यक्ष धर्मदत्त दबाडीले कारागार प्रमुख कमल आचार्यलाई औषधि हस्तान्तरण गर्नुभएको हो । विगत एक महिना १५ दिनदेखि कारागार प्रशासनमा औषधिको अभाव हुँदै आएको समाचार प्रकाशन भएसँगै इकाइले रु एक लाख ५० हजार बराबरको औषधि हस्तान्तरण गरेको हो । दीर्घरोगी र अन्य बिरामीका लागि आवश्यक औषधिसमेत खरिद गर्न नसक्ने अवस्थामा कारागार प्रशासन पुगेको आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले बिरामीलाई औषधि पु¥याउन मुस्किल परेको छ ।” कारागार विभागले अघिल्लो वर्षको तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो ।”

कारागारमा हाल ४७ जना महिला चार जना नाबालक/नाबालिकासहित सात सय ५६ जना कैदीबन्दी छन् । तिनीहरुमध्ये दुई सय हाराहारी दीर्घरोगी छन् । आचार्यका अनुसार उनीहरु उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर, मिर्गौल जस्ता दीर्घरोग भएकाहरु छन् । उनीहरुलाई नियमित औषधि खुवाउनुपर्ने हुन्छ ।

यसका अतिरिक्त समय समयमा कैदीबन्दी बिरामी पर्दा औषधि किन्नुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार कारागार विभागले औषधि उपचारका लागि चालु आर्थिक वर्षका लागि रु १२ लाख मात्रै बजेट पठाएको छ ।

अघिल्लो वर्ष रु २५ लाख पठाएको थियो । त्यसभन्दा अघिल्लो वर्ष रु ४८ लाख पठाएको जनाउँदै उहाँले बजेट घट्दै जाँदा कैदीबन्दीलाई औषधि खुवाउन नसक्ने अवस्थामा पुगेको बताउनुभयो । आएको बजेटमा समेत आर्थिक मन्दीका कारण २० प्रतिशत कटौती भएको उहाँले जानकारी दिनुभयो ।

औषधिको चरम अभाव भएपछि रु १५ लाख माग गरेकामा रु दुई लाखमात्रै प्राप्त भएको आचार्यले जानकारी दिनुभयो । कारागारले जिल्ला स्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखासँग समन्वय गरेर केही औषधि जुटाएको छ ।

कारागारमा रहेका आर्थिक अवस्था राम्रो भएकाले आफैँले औषधि किनेर खान थालेका छन् । विपन्नलाई औषधि खान समस्या परेको छ । उहाँका अनुसार सत्तरी प्रतिशत बिरामीको औषधि किनेर खाने क्षमता छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>