राजनीति
नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैनः सुजाता कोइराला

विराटनगर,जेठ ३-
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै किसिमको संलग्नता नरहेको बताएकी छन् । बुधबार गृहनगर आउने क्रममा विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले भनिन्, “नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै किसिमको संलग्नता छैन । यो निष्पक्ष छानबिन भई दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।”
अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालको बद्नामी हुने गरी यो प्रकरण अघि बढेकोले सबै सचेत हुनुपर्ने कोइरालाको भनाइ थियो । “नक्कली भुटानी शरणार्थी प्रकरणबारे विभिन्न देशमा चासो भएको छ । मलाई समेत देशविदेशबाट साथी इष्टमित्रले प्रश्न सोध्ने गर्नु भएको छ, हाम्रो मुलुकको छविलाई उच्च बनाउन सबैले राम्रो कार्यलाई मात्र प्रश्रय दिनुपर्छ,” कोइरालाले भनिन् । कोइरालाको सचिवालयमा बसेर कार्य गरेका मोरङका केशव दुलाल प्रमुख योजनाकारको रूपमा पक्राउ परेका छन् । मोरङकै सागर राई पनि पक्राउ परेका छन् ।



























