राजनीति
शरणार्थी प्रकरणमा राज्यविरुद्धको कसुर मुद्दा चलाउन राप्रपाको माग

काठमाडौं, जेठ ३
राष्ट्रिय प्रजातन्त्र पार्टीले नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई राज्यविरुद्धको कसूरसहित ४ वटा कसुरमा मुद्दा चलाउन माग गरेको छ । जेठ १, २ र ३ गते बसेको केन्द्य्रीय कार्यसमितिको बैठकले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजान राज्यशक्तिको दुरुपयोग केबल अंकको भ्रष्टाचार मात्र नभएको बताएको छ ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनबमोजिम आकर्षित हुने राज्य विरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत कीर्ते लगायतका कसुरमा कारवाही चलाउन राप्रपा जोडदार माग गर्दछ’ बैठकपछि राप्रपा प्रवक्ता सगुन लावतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राप्रपाले माओवादी लडाकु शिविरको घोटाला, ललिता निवास जग्गा काण्ड, एनसेल प्रकरण, वाइड बडी काण्ड लगायतका सम्पूर्ण भ्रष्टाचारका घटनामा तत्काल छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन पनि माग गरेको छ ।



























