Breaking News

चितवनमा अघोषित लोडसेडिङ, पटकपटक विद्युत् काटिँदा नागरिकलाई सास्ती

Banner

पूजा ढकाल

चितवन, जेठ १-

चितवनमा अघोषित रुपमा लोडसेडिङ हुन थालेपछि नागरिकले सास्ती झेल्नु परेको छ । पूर्वसूचना र तालिका बिना लोडसेडिङ हुन थालेपछि व्यवसायीसँगै सर्वसाधारण नागरिकले सास्ती झेल्नु परेको हो । विधुत् आउने र जाने हुदा विद्युतीय सामग्रीहरु बिग्रने सम्भावना पनि बढ्दै गएको छ ।

चितवनमा पछिल्लो केही दिन यता दिनमा लामो समय लोडसेडिङ हुने र बिहान बेलुका झ्याप झ्याप विद्युत् आउने जाने गरेको छ । जसले गर्दा औद्योगिक क्षेत्रमा समस्या भएको छ भने गर्मीको समयमा सर्वसाधारणले सास्ती खेपिरहेका छन् ।

अहिले भरतपुर क्षेत्रका सडकहरु छ लेन बनाउने क्रममा तार भूमिगत सँगै पोलहरु सार्ने काम धमाधम भएकोले दैनिक विद्युत् कटौंती भएको विद्युत् प्रधिकरण भरतपुर बितरण केन्द्रको दाबी छ । ‘सधै एकै क्षेत्रको विद्युत् कटौती गरिएको छैन । हामीले क्षेत्र छुट्याएर दैनिक विद्युत् कटौंती गरेका छौँ र पोल सार्ने सँगै तार भूमिगत गर्ने काम गरेका छौँ’, विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ । कार्यालयका अनुसार अहिले जिल्लामा ३० देखि ४० मेगावाट बिजुली आवश्यक रहेको छ । त्यस्तै दिउँसोमा पोल सार्न विद्युत काटिए पनि बिहान बेलुका ओभर लोड भएर विद्युत सर्टडाउन हुँदा लोडसेडिङ भएको हो ।

जिल्लामा पछिल्लो समय पोल सार्न दैनिकरुपमा बत्तीजान थालेपछि औद्योगिक क्षेत्रले भने करोडौँको घाटा भोग्नु परेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण क्षेष्ठले नारायणी अनलाइनलाई बताए । उनका अनुसार विद्युत् कटौंती हुँदा प्लास्टिक उद्योग, चिस्यान केन्द्र धेरै मर्कामा छन् । श्रेष्ठ भन्छन्, ‘चाररपाँच घण्टा लगाएर कच्चा पदार्थ तताउन पर्ने र बत्ती गएपछि पुनः तताउँदा उद्योगलाई आर्थिक भार पर्ने गर्छ ।’ जसको कारण उत्पादन लागत बढ्ने र उपभोग्य वस्तुको मूल्यमा पनि वृद्धि हुने गर्छ । कतिपय टहरामा सञ्चालन गरिएका विद्यालयहरुमा बत्ती नहुदा सञ्चालन गर्न कठिन भएको भन्दै बत्ती गएको समयमा विद्यार्थीलाई बिदा दिने गरिएको छ । यसरी बिनासूचना बत्ती काट्नुको भित्री खेल प्राधिकरणका कर्मचारीहरुले इन्भर्टरको व्यापार बढाउने भित्री साँठगाँठ त होइन भनेर कतिपय नागरिकले आशंका गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>