राजनीति
तारन्तार तीन दलका शीर्ष नेता बैठक बसेर शरणार्थी प्रकरण मिलाउन खेजेको रास्वपाको आशंका

काठमाडौं, जेठ १-
राष्ट्रिय स्वतन्त्र पार्टीले तीन दलका शीर्ष नेताहरू बसेर नक्कली भुटानी शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त गरेको छ ।
आइतबार साँझ सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष नेताहरूले बैठक बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्टाउने प्रयास गर्नु नहुने निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको बैठकमा भ्रष्टाचारको घटना मिलाउनका लागि तीन दलको बैठक बस्न नहुने निष्कर्ष निकालेको पनि स्पष्ट पारे ।
उनले आफ्नो पार्टी राजनीतिक लेनदेनमा नबस्ने भन्दै संसद् प्रभावकारी बनाउनुपर्ने बताए । उनले भ्रष्टाचारमा अहिले भइरहेको छानबिनको विषयलाई पार्टीले समर्थन गर्ने तर यतिमा मात्रै खुशी हुने अवस्था नरहेको भन्दै सबै चनाखो भएर रहनुपर्ने अवस्था आएको बताए ।



























