राजनीति

टोपबहादुरको खोजी गर्न सीआईबीको टोली भारतमा

Banner

काठमाडौं,बैशाख ३१-

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगी प्रकरणमा नाम जोडिएका नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझीको खोजी गर्न भारत पुगेको टोलीले अहिलेसम्म कुनै सुराक फेला पार्न सकेको छैन। रायमाझीको खोजी गर्न भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली गत शुक्रबार भारत गएको थियो।

रायमाझी भैरहवाबाट काठमाडौं आउन लागेका बेला वैशाख २० गते रातिबाट सम्पर्कबिहीन भएका थिए। त्यसपछि उनी भारत पुगेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। रायमाझी सुरुमा लखनउ र गोरखपुर बसेको र पछि दिल्ली पुगेको सूचना पाएपछि सीआईबीको टोली भारत पुगेको हो।

भारतीय दूतावासमार्फत् रायमाझीलाई काठमाडौं ल्याउन सहयोग गर्दै प्रहरी भारत पुगे पनि उनी अहिलेसम्म फेला पर्न सकेका छैनन्। सीआईबीका एक अधिकारी भन्छन्, ‘भारतमा रहेको सूचना पाएपछि हाम्रो टोली भारत गएको हो। तर अहिलेसम्म कुनै प्रगति भएको छैन।’

वैशाख २० गते अर्घाखाँचीको कार्यक्रम सकेर उनी त्यसै दिन राति काठमाडौं आउने तयारीमा थिए। सोही अनुसार उनले भैरहवाबाट काठमाडौं आउनका लागि हवाई टिकटसमेत काटेका थिए। तर उनी एकाएक सम्पर्कविहीन भए। राति ९ बजेको फ्लाइटमा काठमाडौं आउने टिकट भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली रायमाझीलाई पक्राउ गर्न भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको कक्षमा गएर बसेको थियो। तर छोरा सन्दीप पक्राउ परेपछि उनी सम्पर्कविहीन भए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>