चितवन विशेष
भ्रष्टाचारविरुद्ध सडकमा कविता वाचन

चितवन, वैशाख २९–
भ्रष्टाचारको विरोधमा कवि, लेखक तथा कलाकारहरुले संयुक्त रुपमा सडक कविता वाचन गरेका छन् । नक्कली शरणार्थी प्रकरणमा आरोपिहरु धमाधम पक्राउ परिरहेका बेला बिहीबार भरतपुरको चौविसकोठीमा सडक कविता वाचन गरिएको हो ।
कार्यक्रममा भरतपुर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी, राजेन्द्र घायल, युवराज घिमिरे, रमेश प्रभात, भूपिन खड्का, विपिन पाठक, प्रेम रिमाललगायतले कविता वाचन गरेका थिए । सरकार भ्रष्टाचार विरुद्ध कडा रुपमा प्रस्तुत भएका बेला अभियान्ताले पनि सरकारलाई साथ दिनुपर्ने कवि भूपिन खड्काले बताए ।
सडक कविता वाचनका क्रममा कार्टुनिष्ट प्रकाश थापाले बनाएका भ्रष्टाचार विरुद्धका कार्टुन प्रदर्शन गरिएको थियो । कविता वाचनअघि भ्रष्टहरु विरुद्धको एकता अभियान चितवनले ‘अहँ हुँदै हुन्न, भ्रष्टाचार सहनै हुन्न’को व्यानर प्रदर्शन गरेको थियो ।
अभियान्ताहरुले ‘शरणार्थी प्रकरण, देशको अस्मिता अपहरण’, ‘तेरो मेरो नभन्नु, सबै भ्रष्ट समाउनु’, ‘भ्रष्टाचारमा शुन्य सहनशिलता कायम गर’ लगायतका प्ले कार्ड पनि प्रदर्शन गरेका थिए ।

























