राजनीति

देउवाविरुद्ध प्रतिरोध गर्ने निष्कर्षमा दुई महामन्त्री

Banner

काठमाडौं, वैशाख २६–

नेपाली कांग्रेसका महामन्त्री गगन थापा पार्टीभित्रको विवाद वा असन्तुष्टिलाई पोख्ने माध्यम सामाजिक सञ्जाललाई प्राय बनाउँदैनन् । पार्टीभित्र उकुसमुकुस अवस्थामा रहेको उल्लेख गर्दै उनले आइतबार भने सामाजिक सञ्जालमार्फत आक्रोश पोखे ।

महामन्त्रीद्वय थापा र विश्वप्रकाशका निकटका नेताहरुका अनुसार सभापति शेरबहादुर देउवाविरुद्ध उनी प्रतिरोध गर्ने अवस्थामा पुगेका छन् । देउवाबाट निरन्तरको वेवास्ता, अवमूल्यन, निर्णय प्रक्रियामा एकलौटीलगायतका कारणले दुई महामन्त्रीले सभापति विरुद्ध प्रतिरोध गर्न लागेका हुन् ।

गत बुधबार भएको शीर्ष नेताको बैठकमा महामन्त्री शर्माले पदबाट राजीनामा दिने चेतावनीसमेत दिएका थिए । बैठकमा सहभागी एक नेता भन्छन्,’रुपान्तरण वा राजीनामाको कुरा महामन्त्री शर्माले उठाउनुभएको हो,’ शर्माको बोली उद्धृत गर्दै ती नेता भन्छन्, ‘यस्तै तरिकाले पार्टी चल्न सक्दैन । मसँग दुई विकल्प छन् । पार्टीमा सुधार या महामन्त्रीबाट राजीनामा ।’

महाधिवेशन सकिएको डेढ वर्षमा सभापति देउवाबाट उनी सधैं प्रताडित हुन पुगेको नेताहरुको बुझाइ छ । सभापतिले एकलौटी तरिकाले चलेको निष्कर्ष निकाल्दै त्यसको प्रतिवाद गर्ने निचोडमा महामन्त्री थापा पुगेका छन् । तेस्रो उमेर समूहबाट महामन्त्रीमा निर्वाचित थापा र शर्माको विचार, क्षमता तथा ऊर्जालाई सभापति देउवाले पहिचान गर्न नसकेको थापा निकटका नेताहरुको बुझाइ छ । ‘महामन्त्री दुईलाई नेविसंघको महामन्त्री जस्तो व्यवहार सभापतिले गरेको देखिन्छ,’ केन्द्रीय सदस्य मधु आचार्य भन्छन्, ‘पार्टीको महामन्त्रीको व्यवहार सभापतिबाट देखिएन ।’

पूर्व सभापति गिरिजाप्रसाद कोइरालाले आफ्ना प्रतिस्पर्धी नरहरि आचार्यप्रति लिएको नीति स्मरण गर्छन् । त्यो क्रम अहिले पूर्णरुपमा टुटेको भन्दै देउवाप्रति नेताहरुको रोष छ । ‘नरहरि आचार्य दाइ संगठनमा कमजोर हुनुहन्थ्यो । तर, गिरिजाबाबुले उहाँको विचार सुन्नुहुन्थ्यो,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘संविधान सभा र संवैधानिक राजतन्त्रबाट गणतन्त्रमा जानुपर्ने नरहरि दाइको नीतिलाई पार्टीको नीति बनाउनुभयो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>