चितवन विशेष
व्यवसायी कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा एक जना पक्राउ

चितवन, वैशाख २२–
चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बझाङ छबिसपाथिभेरा–१ घर भई हाल भरतपुर–८ बस्ने बर्ष ३६ को जिवन बहादुर रावललाई जितपुर सिमरा उपमहानगरपालिका–२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
व्यवसायी कँडेल वैशाख १९ गते साँझ भरतपुर–३ स्थित आफ्नै अफिसमा झुण्डिएको अवस्थामा भेटिएका थिए । अनमोल फिड्सका लेखा प्रमुख रावल र उद्योगी प्रदिप रुङ्गटा मिलेर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको थियो । रुङ्गटालाई भने प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।
अनमोल फिड्सको ८५ प्रतिशत शेयर किनेका रुङ्गटाले सम्झौता अनुसार तिर्नुपर्ने रकम नदिएर तनाव दिने गरेको कँडेलले सुसाइड नोटमा उल्लेख गरेको परिवारले जनाएको छ । किटानी जाहेरीमा नाम उल्लेख भएका दुई आरोपीलाई तत्काल पक्राउ गर्न माग गर्दै हिजो चितवनका उद्योगी व्यवसायी र कांग्रेसले आन्दोलन गरेका थिए । कँडेल चितवन कांग्रेसको पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य थिए ।

























