चितवन विशेष

भरतपुरको दुई विद्यालयका १२० विद्यार्थीलाई राउण्डटेबल नेपालको छात्रवृत्ति

Banner

चितवन, वैशाख १६–

भरतपुर महानगरपालिकाको दुई सामुदायिक विद्यालयका १२० विद्यार्थीको लागि राउण्ड टेबल नेपालले शुक्रबार छात्रवृत्ति रकम प्रदान गरेको छ । नारायणी नमुना माविका ७९ जना र बालकुमारी माविमा अध्ययनरत ४१ छात्रछात्रालाई छात्रवृत्ति वितरण गर्न विद्यालयलाई छात्रवृत्ति रकम हस्तान्तरण गरिएको हो ।

दुई विद्यालयका १२० विद्यार्थीलाई वर्षमा सात लाख १७ हजार ५४० रुपैयाँ प्रदान गरिने नारायणगढ राउण्ड टेबल १४ का अध्यक्ष विवेक चाचानले बताए । जसमध्ये नारायणी माविलाई पाँच लाख ५३ हजार र बालकुमारी माविलाई एक लाख ६४ हजार ५४० रुपैयाँको चेक हस्तान्तरण गरिएको उनले बताए ।

उक्त रकमको पहिलो किस्ता ४० प्रतिशत अहिले विद्यालयको बैंक अकाउण्टमा पठाइएको उनको भनाइ छ । बाँकी रकम मंसिरमा ३० प्रतिशत र फागुनमा ३० प्रतिशत गरेर प्रदान गरिने उनी बताउँछन् । गरिब, जेहेन्दार, अति विपन्न, अशक्त र अपाङ्लाई लक्षित गरेर शिक्षामा थप पे्ररणा दिलाउने उद्धेश्यले छात्रवृत्ति वितरण गरिएको चाचानले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले छात्रवृत्तिको रकमले विद्यार्थीहरु लाभान्वित हुने बताए । उनले भने, ‘छात्रवृत्ति सबैले पाउने विषय हैन, मापदण्ड पुरा गरेर जसले पाउनुभयो उहाँलाई बधाई छ ।’

छात्रवृत्ति रकम हस्तान्तरण कार्यक्रममा विद्यार्थीलाई प्रमाणपत्र र झोला पनि प्रदान गरिएको थियो । महालक्ष्मी बैकको सहयोगमा विद्यार्थीलाई झोला प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै महालक्ष्मी बैकका बागमती प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीले राउण्डटेबलसँग देशव्यापी रुपमा जोडिन पाउँदा खुसी लागेको बताए ।

राउण्ड टेबल नेपालले देशभरको विभिन्न जिल्लाका गरी एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागेको नारायणगढ राउण्ड टेबल १४ का पूर्व अध्यक्ष विकास बर्माले बताए । शैक्षिक गुणस्तर बृद्धि र विद्यार्थीलाई हौसला प्रदान गर्न छात्रवृत्ति प्रदान गरिएको उनले बताए ।

छात्रवृत्ति प्रदान कार्यक्रमका संयोजक शुशील अग्रवालले संस्थाले यसअघि स्वास्थ्य, तथा सामाजिक काममा सहयोग गर्दै आएको भन्दै आगामी दिनमा सार्वजनिक शौचालय निर्माणको लागि स्थानीय सरकारसंँग मिलेर काम गर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>