चितवन विशेष

इच्छाकामना मन्दिरको पुनः निर्माण अन्तिम चरणमा

Banner

चितवन, वैशाख १४-

चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिरका पुनः निर्माण अन्तिम चरणमा पुगेको छ ।

ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनः निर्माण गरिएको हो । विसं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको मन्दिरको ९५ प्रतिशत काम सकिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताउनुभयो । उहाँले अब मन्दिरमा बत्ती जडान, ढुङ्गा बिच्छाउने र पर्खाल लगाउने केही काम बाँकी रहेको बताउनुभयो । “गाउँपालिका र प्रदेश सरकारको झन्डै रु दुई करोडको लागतमा मन्दिर निर्माणमा खर्च भइसकेको छ”, उहाँले भन्नुभयो, “चारपाँच लाख चन्दादाताबाट पनि बटुलिएको छ ।” मन्दिर निर्माणका लागि स्थानीयले श्रमदानसमेत गरेको उहाँको भनाइ छ । यस वर्ष प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख र गाउँपालिकाले विनियोजन गरेको रु आठ लाखको काम भइरहेको बोहोराले बताउनुभयो ।

पृथ्वी राजमार्गअन्तर्गत फिस्लिङबाट १८ किलोमिटर कच्ची सडक र छ सय मिटर हिँडेपछि इच्छाकामना मन्दिर पुग्न सकिन्छ । मन्दिर निर्माण समितिका उपाध्यक्ष यानबहादुर गुरुङले बर्खाको समयमा गाडी नचल्ने र बोकेर सामान लैजानुपर्दा ढुवानी महँगो परेको बताउनुभयो । उहाँले एक महिनाभित्र मन्दिर पुनःनिर्माणको काम सकिने बताउनुभयो । कोरोना र आर्थिक समस्याले मन्दिर निर्माणमा ढिलाइ भएको उहाँको भनाइ छ ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले मन्दिर निर्माणका लागि आवश्यक बजेट पालिकाले विनियोजन गरेको बताउनुभयो । “उहाँले मन्दिर नजिकै पाहुना घरसमेत निर्माण भइरहेको जनाउँदै मन्दिरमा लिफ्टबाट खानेपानीको व्यवस्था गरिएको बताउनुभयो । जमिन संरक्षण र प्रवेशद्वारा निर्माणलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ”, उहाँले भन्नुभयो । इच्छाकामना गाउँपालिका पर्यटकीय सम्पदाले भरिपूर्ण रहेको भन्दै उहाँले प्रचारप्रसारलाई बढाइने बताउनुभयो । उहाँले मन्दिरको सरसफाइका लागि पनि कर्मचारी नियुक्ति गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

शक्तिखोर फिस्लिङ सडक निर्माण सम्पन्न भएपछि सहजरूपमा इच्छाकामना मन्दिर पुग्न सकिन्छ । गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ । प्रत्येक वर्ष मङ्सिरको ठूली एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्छ । इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>