चितवन विशेष

नारायणगढ–मुग्लिन खण्डमा तुइन खोलामाथिको पहाड फुटाउने फाइल नै हरायो

Banner

काठमाडौं, चैत २९–

विस्फोटक पदार्थको अभावमा पहाड फोर्न नसक्दा नारायणगढ–मुग्लिन सडकअन्तर्गतको तुइन खोलामाथिको पुल निर्माण कार्य लामो समयदेखि रोकिएको छ । पुलसँगै रहेको पहाड काट्न विस्फोट नै गर्नुपर्ने तर त्यसका लागि आवश्यक पर्ने बारुदको खरिद प्रक्रिया ढिला हुँदा समस्या भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकृत कृष्ण आचार्यले जानकारी दिए ।

“मेसिनले पहाड काट्न नसकिने अवस्था भयो । त्यो चट्टान काट्न विस्फोट नै गराउनुपर्छ तर विस्फोटक पदार्थ लिन माग गरिएको अनुमतिको फाइल नै सदर भएको छैन,” उनले भने । नारायणगढ–मुग्लिन सडक दिउँसो ४ घण्टा रोकेरै मेसिनले चट्टान काट्न लाग्दा पनि नसकिएपछि बारुदको खोजी भएको हो ।

तुइन खोलासँगै रहेको ११ मिटर अग्लो र ४० मिटर चौडाइको चट्टान फुटाउन कम्तीमा पनि छदेखि सात टन बारुद आवश्यक पर्ने अनुमान गरिएको छ । कुनै पनि आयोजनामा विस्फोट गराउन आयोजनाको जिल्लास्थित सुरक्षा समितिको सिफारिसमा गृह र रक्षा मन्त्रालयको स्वीकृतिले मात्रै गर्न पाउने व्यवस्था छ । विस्फोटक पदार्थ आयातका लागि रक्षाले स्वीकृति दिँदा पनि नेपाली सेनाको अनुमति चाहिन्छ । सेनाकै प्रत्यक्ष निगरानीमा नै त्यो विस्फोटक पदार्थ आयात, ढुवानी, भण्डारण र विस्फोट गराउने व्यवस्था छ । भारतबाट बारुद आयातका लागि अनुमति माग भइगएको फाइल नै अहिले कहाँ छ भन्ने अन्योल छ ।

यही प्रक्रियामा जिल्लाबाट छ महिनाअघि नै माग भएर गए पनि मन्त्रालयमै फाइल अड्किएको आचार्यको भनाइ छ । “मलाई लाग्छ फाइल अहिले रक्षा मन्त्रालयमा अड्किएको छ,” उनले भने । तर रक्षा मन्त्रालयका सहसचिव यज्ञप्रसाद ढुङ्गाना भने फाइल आफूहरूले गृहमा फिर्ता पठाइसकेको बताए ।

“हामीकोमा यति लामो समय फाइल नै बस्दैन । गृहबाट माग भई आएको थियो, नेपाली सेनाको राय लिएर हामीले तुरुन्तै गृहलाई अनुमतिका लागि पत्र पठाइसकेका हौँ,” उनले भने । तर गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले भने सो फाइल गृहमा नभएको बताए ।

“विस्फोटक पदार्थ खरिद गर्नेसम्बन्धी नारायणगढ–मुग्लिन सडक आयोजनाको फाइल अहिले गृहमा छैन । यसको गृहले गर्ने प्रक्रिया अगाडि बढिसकेको हुनुपर्छ,” उनले भने । नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी देशैभरका आयोजनामा आवश्यक विस्फोटक पदार्थ खरिद प्रक्रिया अहिले ढिलै भएको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>