खेलकुद

ओलम्पिक छनोटमा नेपाल भियतनामसँग ५-१ ले पराजित

Banner

काठमाडौं, चैत २२-

पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपाल भियतनामसँग पराजित भएको छ । काठमाडौंको दशरथ रंगशालामा सुरुदेखि नै घरेलु टोलीमाथि दबाब बनाएको भियतनाम ५-१ ले विजयी भयो ।

नेपालक लागि सावित्र भण्डारीले सान्त्वना गोल फर्काइन् । ४ गोलले पछि परेको नेपालका लागि ८० औं मिनेटमा सरु लिम्बूको पासमा सावित्रा भण्डारीले किपरलाई विट गर्दै गोल गरेकी हुन् ।यसअघि दशरथ रंगशालामा खेलको ११ औं मिनेटमा नै भियतनामका लागि नुयेन थि टुएट जुङको पासमा हाई येनले गोल गर्दै अग्रता दिलाएकी थिइन् ।

खेलको ३५ औं मिनेटमा भियतनामको खेलाडीले पोष्टको दिशामा हानेको बल डी बक्सभित्र नेपालकी डिफेन्डर हिरा भुजेलको हातमा लाग्दा भियतनामले पेनाल्टी पायो । पेनाल्टीमा भियतनामकी कप्तान हियुन नुलेले गोल गरिन् ।खेलको ३८ औं मिनेटमा नुयन थि विच थुयको बल अमृता जैशीको खुट्टामा लाग्दा आत्मघाती गोल भोग्दै पहिलो हाफमा नेपाल ३-० ले पछि परेको थियो ।

दोस्रो हाफमा पनि उत्तिकै आक्रमक देखिएको भियतनामले खेलको ४८ औं मिनेटमा होङ थि लोनको पासमा कप्तान हियुन नुले दोस्रो बारमा गरेको प्रहार गोल भएको हो ।भियतनामको लागि लागि पाँचौं गोल नुयेन थि थान नाले नियमित समयको अन्तिम मिनेटमा गरिन् र भियतनाम ५-१ ले विजयी भयो ।

खेलमा नेपाली खेलाडीले केही मौका पाए पनि गोल गर्न सकेनन् । अमिशा कार्कीले खेलको ९ मिनेटमा पाएको सुनौलो अवसर सदुपयोग गर्न सकिनन् । दीपा शाहीले दाया साइडबाट दिएको पास अमिसाले गोल लाइनबाट प्रहार गर्दा पोष्ट माथिबाट बाहिरिएको हो ।

खेलको ३४औं मिनेटमा अमृता जैशीको फ्रिकिकमा अमिशाले निकै फितलो प्रहार गर्दा गोलकिपरले बचाउ गरिन् । ८५ औं र ८६ औं मिनेटमा सावित्राले प्रहार गरेको बल भियतनामकी गोलरक्षक कोङ थि हाङले बचाइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>