चितवन विशेष
चितवन २ : मुख्य राजनीतिक दलबाटै निर्वाचन आचारसंहिता उल्लंघन

सुनिता सुवेदी
चितवन, चैत २१–
आगामी बैशाख १० गते चितवन–२ मा उपनिर्वाचन हुँदै छ । त्यसको लागि सोमबार मनोनयन दर्ताको काम सम्पन्न भएको छ ।
चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न पुगेका मुख्य राजनीतिक दलबाटै आचारसंहिता उल्लंघन भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यालय स्थापनाको दिन नै निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि राजनीतिक दलहरुसँग छलफल गरेको थियो ।
निर्वाचन आचारसंहितामा एउटा दलबाट उमेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाको संख्यामा मात्रै जलुस ल्याउन सकिने व्यवस्था छ । सोमबार उमेदवारी दर्ता गर्न आएका दलले भने सयौँको संख्याका कार्यकर्ता सहभागी गराएर जुलुस ल्याएका थिए ।
निर्वाचन आचारसंहिता विपरित दलहरुले चुनाव चिह्नकै बस्त र चिह्न अंकित बस्तु समेत ल्याएका थिए । सयौँको संख्यामा झण्डा फरहराउँदै दलहरु आएपछि निर्वाचन अधिकृतको कार्यालयले झण्डा थन्काउन भन्दै प्रहरी नै परिचालन समेत गरेको थियो ।
मुख्य राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारको उमेदवारी दर्ताका बेला बढी भिड देखिन्थ्यो । मुख्य दलहरुबाटै आचारसंहिताको व्यापक उल्लघंन भएपछि निर्वाचन स्वच्छ र निश्पक्ष हुनेमा आशंका पैदा भएको छ ।

























