चितवन विशेष

भरतपुर महानगरपालिकाले गर्‍यो बाढीका कारण पुरिएको घौलाघारी तालको दुई दशकपछि खोजी

Banner

चितवन, चैत १५

विगत दुई दशकअघि राप्ती नदीमा आएको बाढीका कारण पुरिएको घौलाघारी तालको खोजी सुरु गरिएको छ । बाढीका कारण पुरिएर गेग्रेनमा परिणत बनेको तालको भरतपुर महानगरपालिका–२३ ले खोजी र संरक्षणकार्य सुरु गरेको हो ।

विसं २०५९ मा आएको बाढीका कारण पश्चिम चितवनको पर्यटकीय क्षेत्रका रूपमा रहेको यो ताल पुरिएको थियो । ताल पुरिएसँगै स्थानीय र सरोकारवालाको यसतर्फ ध्यान जानसकेको थिएन । अहिले तालको पुनःनिर्माणका लागि वडा कार्यालयले गुरुयोजना निर्माणको काम सुरु गरेको वडाध्यक्ष दीपक दबाडीले बताउनुभयो । परापूर्वकालदेखि धार्मिक आस्थाका रूपमा रहेको ताल बाढीले पुरेसँगै संरक्षणको पर्खाइमा रहेको थियो ।

सो ताल पुनःनिर्माणका लागि चालु आर्थिक वर्षमा रु ५५ लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । तीन बिघा क्षेत्रफलमा फैलिएको सो तालको निर्माणका लागि गुरुयोजनासँगै पुनःसंरचनाको समेत काम सुरु गरिएको उहाँले बताउनुभयो । विस्तृत अध्ययन प्रतिवेदन चैत महिनाभित्र आउने गरी काम अघि बढाइएको बताउँदै दबाडीले अहिले तालको क्षेत्रफलअनुसार नक्साङ्कनको काम सुरु गरिएको बताउनुभयो ।

बाढीले पुरेसँगै तालको खोजी नभएकाले यसलाई व्यवस्थित गर्न कठिन हुने भए पनि वडाले यसको संरक्षणलाई आफ्नो गौरवको आयोजनका रूपमा राखेर काम अघि बढाएको छ । घैला आकारमा रहेको सो तालको बीचमा मन्दिर रहेको छ । तालमा स्नान गरेर मन्दिरमा पूजा गर्दा चाहेको कुरा पूरा हुने विश्वास रहेको स्थानीय बुद्धिराम विश्वकर्माले बताउनुभयो । यस तालको संरक्षणसँगै स्थानीयको जीविकोपार्जनका लागि सहयोगी बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । धार्मिक पर्यटक भित्र्याउन यस तालले सहयोग पुग्ने उहाँको विश्वास छ ।

वडाले यस तालको संरक्षणसहित स्थानीयको अपनत्व झल्कने खालका संरचना निर्माण गर्ने योजनामा रहेको वडाध्यक्ष दबाडीले जानकारी दिनुभयो । ताल क्षेत्रमा थारू र बोटे समुदायको बाहुल्यता रहेको छ । ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै लैजाने योजना रहेको उहाँले बताउनुभयो । तालको खोजीसँगै सो क्षेत्रमा तालको बीचमा मन्दिर निर्माण, पार्क, पिकनिकस्थल, माछा मार्नेस्थल, विश्रामस्थलजस्ता संरचना निर्माण गरिने छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>