खैरहनी

चितवनको एक स्कूलमा परीक्षाको बीचमै ‘बेबी सावर’, संलग्नलाई सोधियो स्पष्टिकरण

Banner

चितवन, चैत १२–

पूर्वी चितवनको खैरहनी माध्यमिक विद्यालयमा परीक्षाको बीचमै शिक्षिकाले ‘बेबी सावर’ गरेकी छन् । विद्यालयको प्राथमिक तहकी एक शिक्षिकाले दुई दिनअघि कार्यालयमै ‘बेबी सावर’को आयोजना गरेपछि विद्यालयले संलग्नहरुलाई स्पष्टिकरण सोधेको छ ।

बेबी सावर कार्यक्रमबारे पहिल्यै आफुलाई केहि जानकारी नभएको खैरहनी माविका प्रधानाध्यापक शम्भु शंकर बर्ताैलाले बताए । बेबी सावर गरेको कुरा थाहा पाएपछि संलग्नहरुलाई स्पष्टिकरण सोधेको उनले बताए ।

‘तीन वटा कोठामा भएको परीक्षाको उत्तरपुस्तिका उठेको थाहा पाएपछि मैले सोधेपछि दिउँसो १२ः५० बजेमात्रै कार्यक्रमको बारे थाहा पाएँ । बेबी सावर भनिएको थिएन, सानो कार्यक्रम मात्रै भनिएको थियो’, उनले भने, ‘पछि मैले त्यो कार्यक्रममा संलग्न भएका शिक्षिकाहरुलाई बोलाएँ । उहाँहरुले फेसबुक ग्रुपमा फोटो हालेपछि बल्ल मैले बेबी सावर भएको थाहा पाएँ ।’

त्यतिबेलै आफुले शिक्षकको आचारसंहिता बारे सचेत गराएको उनले बताए । भिडियो भाइरल भएपछि यस विषयमा खैरहनी नगर प्रमुखले प्रधानाध्यापकसँग स्पष्टिकरण लिएका थिए ।

‘एउटा साथी आमा बन्दै हुनुहुन्छ त्यो खुसीकै कुरा हो । शुभकामना दिन पाइन्छ । तर विद्यालयको पोसाक बाहिर गरिदिएको भए हुन्थ्यो’, उनी भन्छन्, ‘घटनाबाट म आफै दुखी छु ।’

विद्यालयमा अहिले दैनिक दुई चरणमा गरी आन्तरिक तर्फको परीक्षा चलिरहेको उनले बताए । बिहान साढे १० बजेदेखि साढे १२ बजेसम्म र दिउँसो १ बजेदेखि चार बजेसम्म परीक्षा हुँदै आएको उनले जानकारी दिए ।

परीक्षा बीचको ३० मिनेटको समयमा बेबी सावर भएको थाहा पाएको उनी बताउँछन् । आमा बन्न लागेकी शिक्षिकाले बिदा नमागेकाले त्यस विषयमा केहि निर्णय नभएको उनले बताए । बच्चा जन्मनुभन्दा अघि र पछिको समय गरी ९८ दिन सुत्केरी बिदा दिनुपर्ने व्यवस्था छ । ‘उहाँले बिदा माग्नुभएको छैन । बिदा नमाग्दासम्म त हामीलाई थाहा हुने कुरा भएन’, उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>