चितवन विशेष

पाँच वर्षपछि हुने चुनावको तयारीमा प्रविन काफ्ले, उपनिर्वाचनअघि महानगरलाई सुझाव पेश गर्दै

Banner

चितवन, चैत ८–

पाँच वर्षपछि हुने स्थानीय तहको निर्वाचनका लागि इन्जिनियर प्रविन काफ्लेले तयारी थालेका छन् । गएको बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनी भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका थिए । विवेकशिल साझा पार्टीबाट उम्मेदवारी दिएका उनले २९८ मत मात्रै प्राएका थिए ।

२०८४ सालमा हुने निर्वाचनमा पनि भरतपुर महानगरको मेयरको लागि उमेदवारी दिने उनले बताएका छन् । चैत १ गतेदेखि सुरु गरेको भरतपुर यात्रालाई त्यसको तयारीका रुपमा पनि बुझ्न सकिने उनी बताउँछन् ।

उनले बैशाख १० गते हुन लागेको उपनिर्वाचन अगाडि नै भरतपुर महानगरलाई सुझाव पत्र पनि पेश गर्दै छन् । त्यसका लागि उनी भरतपुरका २९ वटै वडामा पुगेर जनतासँग भेटेर उनीहरुका सुझाव तथा गुनासो संकलन गर्दै छन् ।

चैत १ गतेदेखि ‘भरतपुर यात्रा’मा निस्किएका काफ्ले सातौँ दिनसम्म २० भन्दा बढी वडामा पुगिसकेको बताउँछन् । यात्राका क्रममा उनलाई जनताले नारायणी लिफ्ट र खगेरी सिंचाईका नहर पुरिँदा कृषकलाई सिंचाईमा समस्या भएको, किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाएको, बेरोजगारी बढेको लगायतका गुनासो गरेका छन् ।

त्यस्तै, किसानले मल नपाएको, नहर पुरेर प्लटिङ बनाएको, भरतपुर–२९ को चौकीडाँडामा खानेपानीको समस्यालगायतका विषयमा महानगरलाई सुझाव पत्र पेश गर्न लागिएको उनले बताए । ‘जनताका यस्ता समस्या छन् । समाधानका लागि यसरी अघि बढ्दा राम्रो हुन्छ भनेर सुझाव दिने एउटा प्रयास गरेको हो’, उनी भन्छन्, ‘चुनावको तयारी पनि हो । राजनीतिज्ञ हुनको लागि नागरिक तहसम्म पुग्नुपर्छ भन्ने सन्देश दिन पनि यो गरेको हो ।’

ग्रामिण भेगका सामुदायिक विद्यालयको अवस्था कमजोर रहेको र विजुली सहज नभएको उनले बताए । मंगलबार भरतपुर अस्पताल पुगेका उनले बर्खामा अस्तपाल नै डुबानमा पर्ने जोखिम रहेकोले यसतर्फ सरोकारवालाहरु सचेत हुनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>