चितवन विशेष

माडीको गोद्धकमा राम चरित्र कथा यज्ञ हुने, चैत १३ देखि पाँच दिनसम्म चल्ने

Banner

चितवन, फागुन ३०–

धार्मिक एवं पुरातात्विक महत्व बोकेको चितवनको माडी–१ स्थित गोद्धकमा यसपटक भव्य गोद्धक राम चरित्रकथा यज्ञ हुने भएको छ । मेलास्थल गोद्धकमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा गोद्धक क्षेत्र विकास समितिका अध्यक्ष तुलसिं गुरुङले चैत्र १३ गतेदेखी १७ गतेसम्म ५ दिनसम्म भव्यरुपमा यज्ञ हुने जानकारी दिए । यज्ञसँगै गोद्धक मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता गरिने उनले बताए ।

माडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष अमितकुमार लामाले गोद्धक क्षेत्रमा पर्ने परशुरामकुण्ड, अष्ठमुख शिललिङ्, भिमसेन मन्दिर वाल्मीकि आश्रम लगायतका स्थानको प्रवद्र्धनका लागि नगरपालिकाबाट १५ लाख र वडाबाट ५ लाख गरी २० लाख बजेट विनियोजन गरिएको बताए । उनले सो रकम तटबन्धन, कुण्ड सरसफाई, सत्तल निर्माण, मन्दिर व्यवस्थापन, खानेपानी लगायतका कार्यमा खर्च गरिने बताए ।

गोद्धक राम चरित्र कथा यज्ञ सञ्चालन मुल समितिका संयोजक भरतप्रसाद तिमिल्सेनाले १३ गते कलश यात्रासहित भव्य कार्यक्रमको सुरुवात गरिने बताए । त्यसका लागि १८५ सदस्यीय यज्ञ सम्पादन समिति र विभिन्न उप–समिति समेत गठन गरिएको छ ।

गोद्धक क्षेत्रका बारेमा महाभारत तथा रामायणमा रोचक कथा समेटिएका छन् । यहाँ नेपालका विभिन्न जिल्ला तथा भारतदेखि पनि दर्शनार्थी आउने गर्दछन । यहाँ गोद्धकनाथ बाबा मन्दिर, शिवमन्दिर, सीता गुफा, परशुराम कुण्ड, द्रौपती कुण्ड, कुकुरनाथ, बिरालोनाथलगायत प्राचीन एवम् धार्मिक महत्व बोकेका क्षेत्र गोद्धक क्षेत्रमा प्रशस्तै छन् । मरोट क्षेत्र नजिकैको चौरमा मेला लाग्ने गर्दछ । परशुराम कुण्डमा स्नान गर्न आउने भक्तजनका लागि देउता खोला हुँदै कुण्डसम्म झाडी सरसफाई एवं सामान्य गोरेटो बनाइने संस्थाले जनाएको छ ।

गोद्धकमा पाँचपाण्डवले तपस्या गर्थे भन्ने विश्वास छ । परशुराम ऋषिले आफ्नै आमाको हत्या गरेर पाप मोक्ष (पाप पखाल्न) गर्न गोद्धक क्षेत्रमा रहेको देउता खोलाको सिरानको कुण्ड (परशुराम कुण्ड) मा पुगी स्नान गरेकोे धार्मिक विश्वास रहेको छ । धार्मिक पुरातात्विक महत्वका मूर्ति, इनार कुण्ड अवलोकन गर्न र विशेष पर्वहरुमा मठमन्दिरमा स्वदेशी तथा विदेशी भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । ठूलो धार्मिक महत्त्व बोकेको गोद्धक क्षेत्रमा चैत्र रामनवमीमा नेपाल र भारतका लाखौँ भक्तजनहरु उपस्थित भई परशुराम कुण्डमा स्नान गरी गोद्धक क्षेत्रको मेला भर्ने परापूर्वकालदेखिको इतिहास छ ।

माडी नगरपालिका–१ मा पर्ने गोद्धक क्षेत्र पुग्न माडी–हुलाकी सडकखण्डअन्तर्गतको सेरूवा चोकबाट करिब तीन किलोमिटर पश्चिमतर्फ लाग्नुपर्छ । मेलास्थलबाट भीम इनार अवलोकन गर्न तीन किलोमिटर तथा शिव मन्दिर दर्शन गर्न चार किलोमिटर पश्चिम लाग्नुपर्छ । गोद्धक क्षेत्रमा द्रौपती कुण्ड, परशुराम कुण्ड, युधिष्ठिरको छाता, प्राचीन राजा विराटको गोठ, पुराना मूत्र्ति, भीम इनार रहेको छ । रिउ खोलाको दक्षिणमा रहेको सोमेश्वर पर्वतको पश्चिमतर्फको अन्तिम शिखरमा रहेको परशुराम कुण्डसमेत गोद्धक क्षेत्रमा पर्दछ । यहाँ प्रशस्त शालिग्राम समेत पाइन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>