चितवन विशेष
इच्छाकामना–७ रानीखोलाका विद्यार्थीलाई शैक्षिक सामाग्री

चितवन, फागुन २७ –
नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनले २८ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । संघको २८ औं स्थापना दिवसको अवसरमा आज (शनिबार) इच्छाकामना–७ सिमलढापमा रहेको रानीखोला माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । गरिब तथा जेहेन्दार बालबालिकालाई कलम, कापी र झोला वितरण गरिएको थियो । शैक्षिक सामाग्री प्राप्त गर्नेमा ४ जना गैर मगर विद्यार्थी समेत रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै इच्छाकामना गाउँपालिकाका अध्यक्ष बम बहादुर थापामगरले पालिकाका मगर समूदायलाई पनि संगठित गरेर लाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘मगर विद्यार्थीको संगठनबाट शिक्षा क्षेत्रलाई पु¥याएको सहयोग सराहनीय रहेको छ । यस संगै यहाँका मगर समूदाय अझै संगठित भएर लाग्न सकिरहेका छैनन् । यसमा पनि जोड दिनुपर्छ ।’
मगरका पहिचान र अस्तित्व जोगाई राख्न संघहरु मजबुत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘मगर संघले नेतृत्व गर्ने स्थानमा मगर समुदायका व्यक्तिहरुलाई पु¥याउने गरी काम गर्न आवश्यक छ । तब मात्र हाम्रो अस्तित्व जिवित रहन्छ । यसको लागि संघ मजबुत हुन आवश्यक छ’, उहाँको भनाइ थियो ।
नेपाल मगर संघ बागमति प्रदेशका मुख्य–सचिव मिलन थापामगरले शिक्षाको महत्व अभिभावकले बुझ्न पर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘राम्रो भविष्य निर्माण गर्नको लागि शिक्षा अति आवश्यक छ, यो कुरा अभिभावकले बुझ्न आवश्यक छ । स्कुलसम्म आउने वातावरण निर्माण गरिदिनु पर्छ ।’ मगरले मगर बालबालिकाको शैक्षिक स्तर उकास्नको लागि संघ लागिपरेको समेत बताउनुभयो ।
मगर विद्यार्थी अक्षय कोष चितवनका अध्यक्ष निर्मल हुन्चिङ मगरले अक्षय कोषबाट प्राप्त ब्याजले विगत ३ वर्ष देखि बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्दै आएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘सुरुवातमा हामीले चितवनको माडीमा मगर बालबालिकालाई सहयोग ग¥यौं । त्यस पछि इच्छाकामना–३ को जनजोति मा.वि र आज इच्छाकामना–७ कै रानीखोला मा.वि का बालबालिकालाई सहयोग ग¥यौं ।’ यसले विद्यार्थीको भविष्यका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।
देउसी भैलो र विदेशमा रहेका मगर समुदायको सहयोगमा चितवनमा अक्षय कोष स्थापना भएको थियो । यस कोषमा अहिले ५ लाख रकम जम्मा भएको छ । यसलाई बढाएर १० लाख पु¥याउने उद्देश्य रहेको मगरले बताउनुभयो । रानीखोला मा.विका प्रध्यानाध्यापक अर्जुन थापामगरले सहयोग प्रति कृतज्ञता व्यक्त गर्नुभयो । दुर्गम स्थानसंगै पिछडीएका जनजाती समुदायको शैक्षिक क्षेत्रमा संघको सहयोगले महत्वपूर्ण भूमीका खेल्ने उहाँको जीकिर थियो ।
सहयोग लिदै अभिभावक पूर्णमाया मगरले केही आर्थिक भार कम भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो ४ जना छोरा छन् । जेठो ८ मा, माइला ५, साईला ३ मा र कान्छा शिशु कक्षामा पढ्दै छ । उनीहरुको कापी कलममा धेरै खर्च लाग्छ । यसरी सहयोग पाउँदा केही महिनाको लागि ढुक्क भयो ।’
‘सम्पूर्ण मगर विद्यार्थी एक हौं, शैक्षिक जागरण फैलाऔं ।’ भन्ने मुल नाराका साथ संघ लागि परेको छ । कार्यक्रम नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनका अध्यक्ष कुमार सिंजाली मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।


























