राजनीति

एमाले र कांग्रेसको नयाँ गठबन्धन सरकार बनाउने गृहकार्य

Banner

काठमाडौं, फागुन २६–

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपश्चात् राजनीति स्थिरताका लागि नयाँ गठबन्धन बन्ने गृहकार्य सुरु भएको छ। अब बन्ने नयाँ गठबन्धनमा संसदभित्रको पहिलो र दोस्रो ठूलो दलका बीचमा हुनेछ।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमालेबीच नयाँ गठबन्धन बनाउने गृहकार्यमा नेता लागेका छन्। देशमा अस्थिरता अझै बढ्दै गइरहेको निष्कर्षसहित एमालेले त्यसलाई स्थिरतातिर लैजानका लागि दुई ठूला दल मिल्नुको विकल्प नभएको जनाएको छ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री कपी शर्मा ओलीले राजनीति स्थिरताका लागि दुई ठूला दलबीच नयाँ गठबन्धन बन्ने संकेत गरेका छन्। अध्यक्ष ओलीले राष्ट्रपति निर्वाचनपछि कांग्रेस र एमालेको सरकार बन्दैन भन्न नसकिने बताए।

बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेससँग मिलेर नयाँ सरकार गठन हुन सक्ने बताउँदै भने, ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएको छैन । कांग्रेससँग हामी मिल्न सक्छौं ।’

बिहीबारको निर्वाचनबाट निर्वाचित हुने राष्ट्रपतिले देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने र देशको अभिभावकको भूमिका बहन गर्नुपर्ने बताए ।

उनले यसअघिका राष्ट्रपतिको आलोचना गर्नेहरू संकीर्ण स्वार्थ बोकेकाहरूले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगरेको आरोप लगाए । राष्ट्रपतीय प्रणालीलाई नै मन नपराउने, जन्मिँदै श्रेष्ठ भनेर जस्तो भए पनि पुज्ने बानी परेका र संकीर्णताका काम गर्नेहरूले राष्ट्रपतिलाई गाली गर्ने गरेको उनले बताए ।

अध्यक्ष ओलीले यसअघिका दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले झनै महत्वपूर्ण काम गरेको दाबी गरे ।

निर्वाचन अघिदेखिकै प्रयास

एमाले अध्यक्ष ओलीले राजनीति स्थिरता र मुलुकको समृद्धिका लागि दुई ठूला दल मिल्नुको विकल्प नभएको निष्कर्षसहित पहिलेदेखि नै प्रयास गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअघि नै कांग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धन फोडेर उनले नयाँ गठबन्धन बनाउने प्रयास गरेका थिए ।

आमनिर्वाचन अघि एक मिडियालाई दिएको अन्तरवार्तामा अध्यक्ष ओलीले निर्वाचन पछि कांग्रेस र एमाले गठबन्धनको सरकार बन्ने भनेका थिए । कांग्रेससँग मिलेर सरकार बनाउने प्रयास असफल भए पनि नेकपा (माओवादी केन्द्र) सहित साना दलसँग मिलेर सरकार बनाउन उनी सफल भए ।

१० पुसमा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टीसहितको नयाँ गठबन्धन बन्यो । तर, त्यो धेरै दिनसम्म टिक्न सकेन । १० पुसको सहमतिअनुसार ११ पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए ।

२६ पुसमा उनले संसद्बाट दुई सांसदबाहेक सबै सांसदबाट विश्वासको मत पाए । कांग्रेससमेतले विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा गर्ने भन्दै १० पुसको सहमति उल्लंघन गरेको आरोप एमालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>