राजनीति

कांग्रेस–माओवादीको गठबन्धन व्युँतिएपछि रास्वपा ओझेलमा, राष्ट्रपति चुनावमा गुमनाम

Banner

काठमाडौँ, फागुन १९–

नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दललाई छाडेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एकिकृत समाजवादीसँग गठबन्धन गर्न पुगेपछि रास्वपाको चर्चा अहिले सेलाएको छ । प्रधानमन्त्री निर्वाचनका बेला रास्वपाको जुन चर्चा थियो, त्यो अहिले बिलाएको छ । राष्ट्रपति चुनावसम्म आइपुग्दा रास्वपा गुमनाम जस्तै बनेको छ ।

प्रतिनिधि सभाको पहिलो चुनावमै २० सिट जित्न सफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी संसदको चौथो शक्ति बन्यो। त्यसैले १० पुसमा प्रधानमन्त्री चयनसम्म आइपुग्दा सो पार्टीले निकै महत्व पाएको थियो।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्। रास्वपाले कसलाई मत दिने भन्ने निर्णय गरिसकेको छैन।

‘कुन उम्मेदवारलाई मत दिने, अन्तिम समयमा निर्णय गर्छौं,’ रास्वपा उपसभापति डोलप्रसाद अर्यालले भने। उनले राष्ट्रपति निर्वाचनको नतिजा स्पष्ट भइसकेकाले पार्टीले दौडधुप नगरेको स्पष्ट पारे।

‘प्रधानमन्त्री चुन्दा दौडधुप गर्नेपर्ने थियो तर, अहिलेको परिस्थिति फरक छ,’ अर्यालले भने, ‘अहिले जम्मा २ जना उम्मेदवार हुनुहुन्छ, त्यसमा पनि नतिजा लगभग प्रष्टै छ। हामीले दौडधुप गर्नुपर्ने छैन।’

९ पुससम्म सभापति रवि लामिछानेदेखि उपसभापति डोलप्रसाद अर्याल, महामन्त्री एवं प्रवक्ता डा।मुकुल ढकाल नेकपा एमाले र नेपाली कांग्रेससँग सरकार निर्माणकै विषयमा छलफल गरेका थिए।

तर, कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार गर्न रास्वपाका नेताहरु तयार थिएनन्। कांग्रेसबाट देउवाबाहेक प्रधानमन्त्री बन्ने तत्काल कुनै सम्भावना थिएन। त्यही भएर पनि रास्वपाका पदाधिकारीहरु कांग्रेसबाहेकको सरकार निर्माणको पहलका लागि एमालेसँग पनि निरन्तर संवादमै थिए।

कांग्रेसले पूर्वसहमति पालना नगरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १० पुसको बिहान पुरानो ५ दलीय गठबन्धन तोडेको घोषणा गरे। प्रधानमन्त्री देउवासँग बालुवाटारमा अन्तिम संवाद गरेर बाहिरिएका प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोट निवास बोलाए।

त्यहाँ पहिल्यै रास्वपाका सभापति सहितका पदाधिकारी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन लगायतका नेताहरु, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलाई भेला भइसकेका थिए।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन जुटाउन राखिएको सोही बैठकबाट हस्ताक्षर गरेर ३ स्वतन्त्रसहित ७ दलबाट १६९ सांसदको समर्थन जुटाइएको थियो।

सो बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेल्ने एमाले अध्यक्ष ओलीलाई साथ दिने दलमध्ये एक थियो रास्वपा। प्रचण्डले १० पुसमै नियुक्ति लिए। ११ पुसमा शपथग्रहणको कार्यक्रम तय भएको थियो। तर, सरकारमा को को सहभागी हुने भन्ने विषय निर्णय भइसकेको थिएन।

११ पुसमा नयाँ बानेश्वरमा एमालेसहित नेताहरुको बैठक बस्यो। सो बैठकमा रास्वपा सभापति लामिछानेले उपप्रधानसहित गृहमन्त्री दाबी गरे। प्रचण्डले नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउने तयारी गरेका थिए। तर गृह नपाए सरकारलाई समर्थन दिन नसक्ने अडान लामिछानेले लिए।

अन्ततः एमालेबाट उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल, लामिछाने उपप्रधानसहित गृह र श्रेष्ठ उपप्रधान सहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>