Breaking News

जापानको भिसा त्यागेर भैँसीपालन गर्दै चितवनका मनिराज, महिनाको दुई लाख बढी आम्दानी

Banner

प्रतिमा कुमाल

चितवन, फागुन १८–

कुनै पनि काममा स्थापित भैसकेको व्यक्तिलाई सो काम छोडेर अर्को काममा शून्यबाट सुरुवात गर्न कठिन हुन्छ । उपलब्धि केही हुँदैन कि भन्ने डर पनि उत्तिकै रहन्छ । नयाँ पेसा अंगाल्नेलाई आँट र दुरदृष्टिको पनि त्यत्तिकै आवश्यकता पर्छ । यस्तै आँट र शाहस बटुलेर आफ्नै गाउँमा भैसीपालनमा खटिएका छन् चितवनका मनिराज गुरुङ ।

चितवनको इच्छाकामना–७ खेतबारीका गुरुङले भैँसीपालक किसानको रुपमा आफ्नो अलग पहिचान बनाउन सफल भएका छन् । गुरुङ ४ वर्ष पहिला एक कुसल रिभर गाइड (र्‍याफ्टिङ  गाइड) का रुपमा देश विदेशमा परिचित थिए । १४ वर्ष रिभर गाइडका रुपमा काम गरेको गुरुङले सुनाए । ‘९ वर्ष नेपालको सबै स्थानमा जस्तै सेती, कालिगण्डकी, कर्णाली, भेरी, तमोर जस्ता नदीमा रिभर गाइडको रुपमा काम गरँे । यसै काममा नै जापनामा गएर पाँच वर्ष काम गरँे’, उनले भने ।

जापानको काम छाडेर भैँसीपालन

२०७६ सालमा विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका बीच गुरुङ भैँसीपालक किसान बन्न पुगेको बताउँछन् । उनले भने, ‘कोभिडले गर्दा संसारनै खैलाबैला भयो । जापान आउने जाने बाटो बन्द भयो । संक्रमणको अवस्थामा अरु काम केही थिएन । घरमा खाली बस्नु भन्दा सानो लगानीमा पशुपालन गरु भन्ने सोच आयो । जापान रहदा केही फर्महरु देखेको थिए त्यसकै नक्कल गरेर लिजन पशुपालन फार्म सुरु गरेँ ।’
कोरोनाको समयमा सुरु गरेको पेसा कामदारको भरमा नफस्टाउने भएपछि जापान त्यागेको उनी बताउँछन् । ‘कोभिडले गर्दा अचानक पेसा परिवर्तन हुन पुग्यो । अझै पनि मैले चाहेमा रिभर गाइडको रुपमा जापान जान पाउँछु । तर यहाँ फार्म कसले सम्हाल्ने । फेरि किसानी काम सजिलो छैन । धेरै खटिनु पर्छ । कामदारको विश्वास गरेर मात्र यो पेसा फस्टाउँदैन । आफैले हेर्नुपर्ने भएका कारणले अहिले जापान त्यागेर बसिरहेको छु’, उनले सुनाए ।

सुरुमा नोक्सानी

पेसा नयाँ भए गुरुङको लागि भैँसीपालन नौलो भने होइन । किसान परिवारमा नै जन्मिएकाले उनलाई यस विषयमा केही ज्ञान थियो । तर, सुरुवाती चरणमा नोक्सानी भने भोग्न परेको उनी सुनाउँछन् । उनले भने, ‘सुरुमा मैले पाडाबाट सुरु गरेँ । दुई वर्ष पाडापालन गरेँ तर यसबाट घाटा प¥यो । त्यसपछि दुईवटा दुहुना भैँसीबाट सुरु गरे । अहिले दुई वर्षको पिरियडमा १० वटा माउ बनाउन सफल भएको छु ।’
पशुपालनमा घाटा बेहोर्न परेपछि भने परिवारको असन्तुष्टि र दबाबबीच अगाडि बढेको गुरुङ झम्छन्छन् । उनले भने, ‘रिभर गाइड हुँदा आम्दानी राम्रो थियो । मेरो र मेरो परिवारको जीविकोपार्जनको स्रोत नै त्यही थियो । सुरुवातमा पशुपालनमा घाटा भएपछि भने जापान नै जान परिवारबाट दबाब थियो । तर, काम गर्दै जादा राम्रो हुँदै आयो ।’ लगानी अनुसारको आम्दानीमा सुधार देखिन थालेपछि भने परिवारको पूर्ण सहयोग रहेको गुरुङले सुनाए ।

दैनिक १२० लिटर दूध उत्पादन

गुरुङले १८ देखि २० लाख खर्च गरेर लिजन पशुपालन फार्म सञ्चालन गरे । १७ देखि १८ लाख भैँसी खरिदमा लगानी गुरुङले गरेका छन् । अहिले उनीसँग १० वटा दुहुनो माउ सहित २२ वटा भैँसी रहेको छ । जसबाट दैनिक १२० लिटर दूध उत्पादन गर्दै आएको उनले जानकारी दिए । उनले भने , ‘फागुनमा मात्र दिनको १२० लिटर जति दूध बेचेँ । अहिले तीनवटा माउ ब्याउने भएका छन् त्यसपछि दिनको ६५ देखि ७० लिटर दूध बेच्छु ।’

गुरुङले गाउँमा दूघ बेचेपछि बाँकी रहेको मात्र डेरीमा बेच्ने गरेका छन् । ‘डेरीमा पुग्न भन्दा पहिला गाउँतिर दूधको माग बढी छ । त्यसकारण ग्राहकको घरघरमा दूध पु¥याउँछु । बाँकी रहेको डेरीमा जान्छ’, उनले भने । आफैले बेचे १०० र डेरीमा ९० रुपैँयामा दूध दिने गरेको गुरुङले बताए ।

महिनामा ६० हजारसम्म मुनाफा

दुध बेचेर मात्र गुरुङले महिनामा करिब कुल २ लाख भन्दा बढी आम्दानी गर्ने गरेका छन् । जसबाट महिनामा ६० हजारसम्म मुनाफा हुन्छ । उनले भने, ‘कामदारलाई ज्याला जान्छ ३० देखि ४० हजार । दाना चोक्कर महंगो छ । भैँसीले खाने दाना, पराल मै जान्छ महिनाको एक लाख जति । रोग लागे औषधि उपचार पनि गर्नुप¥यो । यी सब खर्च कटाउदा ५० देखि ६० हजार नाफा बच्छ महिनामा ।’ भैँसीका लागि ठेक्का लिएको तीन बिघा जमिनमा गुरुङले घास खेती गरेका छन् । आफ्नै एक बिघा जग्गाको पाँच कठ्ठामा उनको भैँसी फार्म छ । भैँसीको संख्या बढाउने योजनामा समेत गुरुङ छन् । ‘दूधको बजारीकरणमा मलाई समस्या छैन । दूध उत्पादन भन्दा माग बढी छ । पु¥याउन सकिरहेको अवस्था छैन । बजार मागलाई ख्याल राखी भैँसी थप्ने योजनामा छु’, उनले नारायणी अनलाइनलाई भने । योसँगै गुरुङले बाख्रापालन पनि गरेका छन् । अहिले १३ वटा बाख्रा उनको खोरमा छन् जसमा १६ वटा बेचिसकेका छन् ।

तीन जनालाई रोजगारी

यही पेसाको आम्दानीबाट गुरुङले छोरीलाई उच्च शिक्षाको लागि क्यानडा पठाउन सफल भएका छन् । तीन जना स्थानीयलाई रोजगारी दिएका छन् । यसलाई नै आफ्नो उपलब्धि मानेको उनी बताउँछन् । ‘रिभर गाइडमा यसमा भन्दा राम्रो आम्दानी भए पनि परिवारबाट टाढा बस्नुप¥थ्यो । यो पेसा अपनाएपछि दुःख बिमार पर्दा परिवारको साथ र सहयोग छ । सँगै यस पेसाकै कारण छोरीलाई क्यानडा पठाएँ । तीन जनालाई जागिर दिएको छु यो नै मेरो अहिलेसम्को उपलब्धि हो’, उनले सुनाए ।

बास्तविक किसानले अनुदान नपाएको गुनासो

व्यवसायिक रुपमा भैँसीपालन गरे पनि गुरुङले अहिलेसम्म कहीँ कतैबाट अनुदान लिएका छैनन् । सरकारले अनुदानको कुरा गरे पनि वास्तविक किसानको हातमा नपर्ने उनी गुनासो गर्छन् । ‘एक त अनुदान कसरी लिने भन्ने नै थाहा छैन । त्यही पनि दुई वर्ष अगाडि प्रदेशबाट अनुदान दिने भन्ने कुरा आयो त्यसमा फर्म भरेको थिएँ तर बीचमा के भयो थाहा भएन । गाउँपालिकाले पनि दुई वटा दुहुनो पाल्नेलाई अनुदान दिने भनेको थियो । २, ३ वटा भैँसीको फोटो खिचेर देखाउनेले ढेड लाख, दुई लाख, तीन लाख लिएर आएछन् । आफ्नो १० वटा माउ हुँदा पनि केही पाइनँ ।’ सरकाले किसानको लागि मोटो बजेट छुट्टाए पनि बास्तविक किसानले कुनै सेवा सुविधा सहुलियत नपाएको गुनासो उनले गरे । भैँसीपालकसँगै गुरुङ सोमरी सामुदायिक वनको अध्यक्षसमेत हुन् । भैँसी पालनसँगै वनको अध्यक्ष बनेर सामाजिक सेवामा पनि उनले योगदान दिइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>