राजनीति
मेरा लागि प्रधानमन्त्री पद ठूलो होइन, संविधान र लोकतन्त्रको रक्षा ठूलो होः प्रधानमन्त्री दाहाल

काठमाडौँ, फागुन १८
प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री पद ठूलो नभएर संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा भएको बताएका छन् ।
बिहीबार राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आयोजित आठदलीय सांसदहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान र लोकतन्त्रको रक्षा ठूलो भएको बताएका हुन् ।
‘मेरा लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा हो । पुस २६ गतेको संसद्मा मैले प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिँदै गर्दा ओलीजीले संसद्मा जे बोल्नुभयो‚ त्यसले मनमा चसक्क भयो । हामी संसद् विघटनको विपक्षमा थियौँ । हामी आफैँले त्यत्रो संघर्ष गरेर संसद् फिर्ता ल्याएका थियौँ । तर, उहाँले ठिक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ । संविधान र लोकतन्त्रविरूद्ध हामी जाने कुरा भएन । हामी सोच्न बाध्य भयौँ । त्यस्तो नयाँ परिस्थिति बन्यो । आज फेरि संविधान र लोकतन्त्रको रक्षाका निम्ति हामी एक ठाउँमा उभिएका छौँ‚’ प्रधानमन्त्री दाहालले भने ।



























